पूर्णिका सिजापति ‘हाम्रो सानो घर’की मुख्य अभिनेत्री

0 Shares

काठमाडौँ । ‘आचार्य’बाट नेपाली फिल्ममा देखिन लागेकी अभिनेत्री पूर्णिका सिजापति नयाँ फिल्म ‘हाम्रो सानो घर’मा मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन्।

सुमन गजमेरको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा पूर्णिका मुख्य भूमिकामा देखिने भएकी हुन्। निर्माण पक्षले अन्य कलाकार तथा प्राविधिक टोली छनोटको काम पनि अन्तिम चरणमा पुगेको जनाएको छ।

१६ वर्षको उमेरदेखि मोडलिङ सुरु गरेकी पूर्णिकाले कक्षा ११ मा अध्ययन गर्दै गर्दा ‘फेस अफ टिन २०२१’को उपाधि जितेकी थिइन्। उनले ‘फेस अफ क्लासिक डायमन्ड २०२४’को उपाधिसमेत हासिल गरेकी छन्।

मोडलिङ र कन्टेन्ट क्रिएसनमा सक्रिय उनले विभिन्न फेसन तथा ब्रान्डसँग काम गरिसकेकी छन्। ‘आचार्य’मार्फत नेपाली फिल्ममा प्रवेश गरेकी पूर्णिकाले उक्त फिल्ममा नेपाली, बलिउड तथा दक्षिण भारतीय कलाकारसँग स्क्रिन सेयर गरेकी छन्।

‘हाम्रो सानो घर’मा भने उनी पहिलोपटक मुख्य भूमिकामा देखिन लागेकी हुन्।

Gen Z पुस्ताको प्रेम, सम्बन्ध, सपना, सामाजिक सोच तथा जीवनशैलीलाई केन्द्रमा राखिने फिल्ममा प्रेमकथासँगै जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका आकांक्षालाई पनि कथामा समेटिने निर्माण पक्षले जनाएको छ।

मुख्य पुरुष कलाकारको नाम केही समयपछि सार्वजनिक गरिनेछ। फिल्मको छायांकन दशैंपछि सुरु गर्ने तयारी भइरहेको छ।

रे अफ आर्ट प्रालिको ब्यानरमा बन्न लागेको यो फिल्म सुमन गजमेरको पहिलो फिचर निर्देशकीय फिल्म हो। गजमेरले ‘रंगी’, ‘एक्का तीन : च्याप्टर १’ र ‘शेर्वा’मा लेखकका रूपमा तथा ‘कठपुतली’, ‘बाबरी’, ‘महापुरुष’ र ‘बलिदान’मा सहायक निर्देशकका रूपमा काम गरिसकेका छन्।

उनको लेखन तथा निर्देशन रहेको लघु फिल्म ‘बत्तीको पुतली’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट भइसकेको छ।

सम्बन्धित समाचार

सबै