काठमाडौँ । रोशन दास निर्देशित फिल्म ‘प्रतिवैरम्’को आइटम गीत ‘माहोल गरम’ चार भाषामा सार्वजनिक भएको छ। फिल्म मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा सार्वजनिक गरिएको गीतले फिल्मको प्रचारलाई थप गति दिने निर्माण पक्षको अपेक्षा छ। नेपाली संस्करण ओएसआर डिजिटल तथा अन्य तीन भाषाका संस्करण आदर्श प्रोडक्सनबाट सार्वजनिक गरिएको हो।
नेपाली संस्करणमा हृतिका श्रेष्ठको स्वर, रोशन दासको शब्द र मनीष अधिकारीको संगीत रहेको छ। गीतको भिडियोमा प्रियंका कार्की ‘बसन्ती’को भूमिकामा देखिएकी छन्। उनीसँगै नवीन श्रेष्ठ, रोनी यादव, नारायण बिक र प्रदीप ढकाललाई पनि भिडियोमा प्रस्तुत गरिएको छ।
हिन्दी संस्करण ‘जवानी कातिल’, मैथिली संस्करण ‘जवानी सेहो कातिल’ र भोजपुरी संस्करण ‘गाउँवा बा घायल’ शीर्षकमा सार्वजनिक गरिएको छ। हिन्दीमा शिवानी भगतको स्वर तथा लभ कर्णको शब्द रहेको छ भने मैथिली र भोजपुरी संस्करणमा समीक्षा चौधरीको स्वर तथा सुमन मण्डलको शब्द रहेको छ।
गीतमा आइटम प्रस्तुतिसँगै फिल्मका एक्सन दृश्यको झलकसमेत देखाइएको छ। विशेषगरी अन्त्यतिर सम्राट दासलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। सम्राटका लागि ‘प्रतिवैरम्’ डेब्यु फिल्म हो।
फिल्ममा सम्राट दास, वीरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण बिक, आशिष डिके र रमेश बुढाथोकीलगायत कलाकारको अभिनय रहेको छ।
हर्ष कुमार यादव र सत्यराज चौलागाईं निर्माता रहेको फिल्ममा बिक्की शाह कार्यकारी निर्माता, राकेश शाह क्रिएटिभ निर्माता, अनिश पोखरेल सह–निर्माता तथा रजन देवी र रीता देवी एसोसिएट प्रोड्युसर रहेका छन्।
रोशन दासको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा, संवाद तथा लेखनमा युवराज भट्टराई जोडिएका छन्। रेज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म आदर्श प्रोडक्सन, सिम्पल एड मिडिया र श्रीयान इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण भएको हो।
नितेश घतान र हरि ढकालले छायांकन गरेको गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका छन्। कबिर ओड र पंकज महतोले सम्पादन तथा समीर मियाँले भिएफएक्सको काम गरेका छन्।
मधेशको सामाजिक परिवेशसँगै एक्सन, सम्बन्ध, अपराध र बदलाको कथालाई समेटिएको ‘प्रतिवैरम्’ नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ। फिल्मको वितरण नेसनल सिनेमा ग्रुपले गर्नेछ।