काठमाडौँ । लगातारको वर्षाका कारण सुरुवाती प्रदर्शनमा प्रभावित भएको फिल्म ‘बाः एक योद्धा’ले मौसम सफा भएसँगै दर्शकको राम्रो साथ पाउन थालेको छ।
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मका आइतबार मध्याह्नपछिका अधिकांश शोमा ८० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको निर्माण पक्षले जनाएको छ। कतिपय शो हाउसफूलसमेत भएका छन्।
निर्देशक तथा निर्माता हरि लम्सालले मौसममा सुधार आएपछि फिल्मको व्यापारिक गति बढेको बताए। उनका अनुसार लगातार दुई दिनको वर्षाले दर्शकको उपस्थिति प्रभावित भए पनि आइतबारदेखि दर्शकको उत्साह बढेको छ।
फिल्म हेरेका दर्शकले कथाले आफूहरूलाई भावुक बनाएको र आफ्नै जीवन, परिवार वा छिमेकमा देखे–भोगेका घटनासँग जोडिएको प्रतिक्रिया दिइरहेको लम्सालले बताए। कतिपय दर्शकले अभिभावकले आफ्ना सन्तानलाई फिल्म देखाउनुपर्ने सुझाव दिएको उनको भनाइ छ।
‘बाः एक योद्धा’मा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभरका चुनौतीलाई कथाको केन्द्रमा राखिएको छ। सन्तानका इच्छा पूरा गर्न अभिभावकले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले भोग्ने पीडालाई पनि फिल्मले प्रस्तुत गरेको छ।
दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा फिल्मका मुख्य कलाकार हुन्।
हरि लम्सालको कथा, पटकथा, लेखन तथा निर्देशन रहेको फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। वसन्त लम्साल निर्माता रहेको फिल्ममा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता छन्।