काठमाडौं । मोडल बिक्रम बुढाथोकी फिल्म ‘बाकस’मार्फत ठूलो पर्दामा डेब्यु गर्ने भएका छन्। नवीन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा उनी मुख्य कलाकारका रूपमा अनुबन्धित भएका हुन्।
बिक्रमले हालसम्म ५ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। उनले प्रमोद खरेलका २ सयभन्दा बढी गीतका म्युजिक भिडियोमा समेत अभिनय गरेका छन्।
म्युजिक भिडियोमा लामो समयदेखि सक्रिय बिक्रमले अब नवीन पन्तको निर्देशनमा बन्ने ‘बाकस’बाट आफ्नो फिल्म यात्रा अघि बढाउन लागेका हुन्।
निर्माण पक्षका अनुसार फिल्मका केही कलाकार तथा प्राविधिकको छनोट अझै जारी छ। फिल्ममा यसअघि नै बिपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा र सुपला सापकोटा अनुबन्धित भइसकेका छन्। बाल कलाकारतर्फ रेखा भण्डारी, अविरल चौलागाईं, सनाज चौलागाईं र सगुन खड्का रहेका छन्।
सुजिता चौलागाईंले निर्माण गर्ने फिल्मका सह–निर्माता छत्रबहादुर खड्का र कार्यकारी निर्माता धीरेन्द्र पन्त (धिरु भाइ) हुन्।
दीपक शर्मा र सनम पुरुष राईले फिल्ममा संगीत दिनेछन्। गीत तथा शब्द दीपक शर्मा र निर्देशक पन्तको रहनेछ। मणि तामाङ मुख्य सहायक निर्देशक, किरण दाहाल द्वन्द्व निर्देशक, महेश पौडेल छायाकार र निर्मल न्यौपाने प्रोडक्सन म्यानेजरका रूपमा छन्।
फिल्मको प्रदर्शन मिति तय गरिएको छैन। निर्माण पक्षले छायांकन सम्पन्न भएपछि प्रदर्शन मिति सार्वजनिक गर्ने जनाएको छ।