काठमाडौँ। पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित नेपाली फिल्म ‘अक्षरा’ असोज २३ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ। विनयराज पौडेलले निर्देशन गरेको फिल्मले ‘युनिभर्सल’ (यू) प्रमाणपत्र पाइसकेको छ।
फिल्ममा छोरीको इच्छाविपरीत गराइने विवाहले परिवारमा निम्त्याउने समस्या र त्यसको सामाजिक प्रभावलाई प्रस्तुत गरिएको छ।
‘क्षित बाबु प्रोडक्सन हाउस’को ब्यानरमा बनेको फिल्ममा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी र गीता अधिकारीलगायत कलाकारले पनि अभिनय गरेका छन्।
सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्मको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन्। पटकथा तथा संवाद अभिमन्यु निरवी र विनयराज पौडेलको रहेको छ।
दिपेन बस्न्यातको छायाङ्कन, गौतम खड्काको सम्पादन, रामजी लामिछानेको नृत्य र कर्णराज गिरीको संगीत रहेको फिल्मलाई नेसनल सिने ग्रुप नेपालका दीपक दंगालले वितरण गर्नेछन्।