तीन महिनाको जाँचपास भत्ता तीन जनालाई सहयोग गर्दै सन्तोष लोहनी

0 Shares

काठमाडौँ। चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म निर्देशक सन्तोषबाबु लोहनीले आफ्नो जाँचपास भत्ताबाट समस्यामा परेका चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिएका छन्।

लोहनीले भदौ महिनामा नौवटा नेपाली फिल्म जाँचपास गरेबापत प्राप्त रकममध्ये १५ हजार ७५० रुपैयाँ उपचाररत फिल्म पत्रकार नवीन प्यासीलाई सहयोग गरेका छन्। काठमाडौँको सिनामंगलस्थित स्टुइट केएमसी अस्पतालमा उपचाररत प्यासीलाई लोहनीले अस्पतालमै पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन्।

चलचित्र जाँचपास समितिका सदस्यसमेत रहेका लोहनीले आफूले जाँचपास गरेबापत प्राप्त हुने भत्ता समस्यामा परेका आफ्नै क्षेत्रका व्यक्तिको सहयोगमा खर्च गर्ने निर्णय गरेका हुन्।

यसअघि असारमा नौवटा नेपाली फिल्म जाँचपास गरेबापत प्राप्त सम्पूर्ण भत्ता उनले उपचाररत कलाकार कोपिला थापालाई प्रदान गरेका थिए। भारतमा करिब तीन वर्षअघि भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी थापा लामो समयदेखि उपचाररत छिन्।

साउनमा भने १० वटा नेपाली फिल्म जाँचपास गरेबापत प्राप्त १७ हजार ५०० रुपैयाँ उनले वरिष्ठ कलाकार शान्ति रानालाई जीविकोपार्जन तथा औषधोपचारका लागि सहयोग गरेका थिए।

यसरी लोहनीले लगातार तीन महिनाको जाँचपास भत्ता तीन फरक व्यक्तिलाई सहयोग गरेका छन्। उनको अभियानअन्तर्गत असारमा कोपिला थापा, साउनमा शान्ति राना र भदौमा नवीन प्यासीले सहयोग प्राप्त गरेका हुन्।

सम्बन्धित समाचार

सबै