काठमाडौं । पल शाह र रिश्ता गुरुङ अभिनीत बहुप्रतीक्षित फिल्म ‘आ बाट आमा २’को छायांकन अन्तिम चरणमा पुगेको छ। बडादशैँको अवसर पारेर असोज ३० गते प्रदर्शनमा आउने फिल्मको बाँकी छायांकनका लागि अभिनेता पल शाह, अभिनेत्री रिश्ता गुरुङ, निर्देशक चन्द्र पन्तसहितको टोली हङकङ पुगेको हो।
फिल्मको अन्तिम सेड्युल हङकङका विभिन्न स्थानमा हुनेछ। त्यहाँ हुने छायांकन तथा लाइन प्रोडक्सनको जिम्मेवारी खुसी इन्टरटेनमेन्टले सम्हालेको छ।
निर्माण पक्षका अनुसार नेपालमा फिल्मका अधिकांश पारिवारिक र भावनात्मक दृश्यको काम पूरा भइसकेको छ। कथाको एक महत्वपूर्ण पाटोका रूपमा रहेको प्रवासी जीवनलाई वास्तविक परिवेशमै प्रस्तुत गर्न हङकङमा बाँकी दृश्य खिच्न लागिएको हो।
निर्देशक पन्तका अनुसार हङकङ सेड्युलमा पल शाह र रिश्ता गुरुङसँग सम्बन्धित केही विशेष दृश्य समेटिनेछन्। फिल्मले गाउँमा आमाले गर्ने पर्खाइ र विदेशमा रहेका सन्तानले भोग्ने बाध्यतालाई भावनात्मक रूपमा जोडेको उनले बताएका छन्।
‘आ बाट आमा २’को टिजरले सार्वजनिक भएको तीन दिनमै ४२ लाखभन्दा बढी भ्युज पाएको निर्माण पक्षले जनाएको छ। यसलाई नेपाली फिल्मको सर्वाधिक हेरिएको टिजरको रेकर्ड भएको दाबीसमेत गरिएको छ।
यसैबीच, फिल्मको पहिलो रोमान्टिक गीत ‘अचेल किन कान्छी’ मंगलबार सार्वजनिक भएको छ। गीतले युट्युबसँगै टिकटकमा पनि चर्चा पाइरहेको निर्माण पक्षले जनाएको छ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा पल शाह, रिश्ता गुरुङ, विपना थापा, मलिका महत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, निकिता आचार्य, गजित विष्ट, नरेन खड्का, दिलिप ओखेडा र स्वर्गीय प्रदीप रावतलगायतको अभिनय छ।
रोशन भट्ट र चन्द्र पन्तले लेखेको फिल्ममा करण सिंह कार्यकारी निर्माता छन्। नेपाल वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ।
हङकङको छायांकन सकिएपछि फिल्मको पोस्ट–प्रोडक्सनको बाँकी काम पूरा गरिनेछ। फिल्म आगामी २०८३ असोज ३० गते बडादशैँमा देशभर प्रदर्शन हुनेछ।