काठमाडौं । फरक क्षमता भएका व्यक्तिहरूको प्रतिभा र आत्मविश्वास प्रस्तुत गर्ने उद्देश्यले आयोजित ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न भएको छ। सीएस इन्टरटेनमेन्ट नेपालको आयोजनामा जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रको एसओएस चिल्ड्रेन्स भिलेज परिसरमा भएको कार्यक्रममा २० जना सहभागीले र्याम्प वाक तथा विभिन्न मञ्चीय प्रस्तुति दिएका हुन्।
‘डिसेबिलिटी इज नट इनएबिलिटी’ भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रममा सहभागीले आफूलाई फरक सम्भावना र प्रतिभाका रूपमा प्रस्तुत गरेका थिए।
कार्यक्रमका लागि सहभागीलाई १४ दिनसम्म प्रशिक्षण दिइएको सीएस इन्टरटेनमेन्ट नेपालकी सीईओ छिरिङ शेर्पाले जानकारी दिइन्। उनका अनुसार अवसर, प्रोत्साहन र विश्वास पाए फरक क्षमता भएका व्यक्तिले आफ्नो प्रतिभा तथा क्षमता प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्छन् भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो।
कोरियोग्राफर टीना राईले सहभागीको क्षमता, आवश्यकता र शारीरिक अवस्थालाई ध्यानमा राखेर र्याम्प वाक, प्रस्तुति शैली, आत्मविश्वास तथा मञ्चीय प्रस्तुतिको प्रशिक्षण दिएकी थिइन्।
र्याम्पमा लक्ष्मी सेन्चुरी, अस्मिता राई, दमाया बुढामगर, रोशनी थापा, शारदा शर्मा, रेनु मोक्तान, जुना शाही, झरना घिमिरे, सुशीला शाही, विरू ढुंगाना, सान्नानी श्रेष्ठ, अर्जुन दोङ, सविन थापा, दीपक तामाङ, खड्क रोकाया, तिलकराम थारू, अकलबहादुर तामाङ, राजदेव यादव, कर्मा शेर्पा र विसु पुकार श्रेष्ठले प्रस्तुति दिएका थिए।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष नारायणबहादुर सुवेदीले फरक क्षमता भएका व्यक्तिको सामाजिक सहभागिता र अवसरका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ कार्यक्रमको सहयोगीका रूपमा सहभागी थियो।
कार्यक्रममा वडा नम्बर ५ का सदस्यहरू दुर्गा राना मगर (लक्ष्मी), कमला नेपाली, श्रीबहादुर योगी र धर्म थिङ लामा तथा नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल निर्देशक डा. मुक्ति तिमिल्सिनालगायत सहभागी थिए।
सोही अवसरमा खगेन्द्र नवजीवन केन्द्रका प्रबन्ध निर्देशक गोकर्ण ढुंगाना, बीआईए फाउन्डेसनका सिद्धार्थ शाक्य, पत्रकार तथा लेखक करण तामाङ, सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी अधिकृत तथा गायिका कुञ्जाङ छ्योपेल शेर्पा, पर्वतारोही तथा व्यवसायी उदय केरुङ र तामाङ म्युजिक भिडियो मोडल तथा कलाकार पासाङ डोमा पाख्रिनलाई ‘राष्ट्रिय गौरव सम्मान–२०२६’ प्रदान गरिएको थियो।