अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर स्टारर सिनेमा ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘मखमली’ सार्वजनिक भएको छ।
बिहीबार सार्वजनिक भएको यो गीत नेपाली लोक संगीतका चर्चित विधाहरू कौडा र चुट्कामा आधारित छ। गीतमा प्रेम, वियोग, हास्यव्यङ्ग्य, र सामाजिक परिवेशलाई सहज रूपमा प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा विपिन र मिरुनाबीचको अव्यक्त प्रेमलाई प्रस्तुत गरिएको छ। गण्डक क्षेत्रमा लोकप्रिय यो भाकालाई सिनेमामा पूर्वी नेपालको पाँचथर क्षेत्रको संस्कृतिसँग मिसाइएको छ। सिनेमाको छायांकन पाँचथर र नेपाल-भारत सीमावर्ती फालेलुङ क्षेत्रमा गरिएको हो।
गीतमा सुजन चापागाई र सुनिता थेगिमको सुमधुर स्वर सुन्न सकिन्छ। हर्क साउदले लेखेका गीतका शब्दहरूमा सुजन चापागाईकै संगीत छ। कोविद बज्रले यस गीतका संगीत निर्माता हुन् भने भिडियोको कोरियोग्राफी दीप गुरुङले गरेका छन्। भिडियोमा अभिनेता विल्सन विक्रम राई रोचक भूमिकामा देखिएका छन्।
सिनेमाको प्रदर्शन वैशाख २६ गते नेपाल र विदेशमा एकसाथ हुने तयारी गरिएको छ।
सिनेमामा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, र भावना खपाङ्गी मगरको अभिनय रहेको छ।
यो फिल्मलाई सफल म्युजिक भिडियो निर्देशक नवीन चौहानले निर्देशन गरेका छन्, र यो उनको पहिलो निर्देशनको फिचर फिल्म हो। कथा पनि चौहानले नै लेखेका हुन्, जहाँ लेखनमा उनलाई सुरज कटुवालले साथ दिएका छन्।
फिल्म आर्टमाण्डू ब्यानरमा निर्माण गरिएको हो।