गणेश पाण्डेको ‘द एभरेस्ट ड्रीम’ले जित्यो शिम्लामा अवार्ड

0 Shares

काठमाडौं । निर्देशक तथा सञ्चारकर्मी गणेश पाण्डेद्वारा निर्देशित तथा निर्मित नेपाली डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ले भारतको शिम्लामा अवार्ड जितेको छ।

१२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ शिम्लामा फिल्मले स्पेशल जुरी सर्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको हो। सेप्टेम्बर २५ देखि २७ सम्म गेती हेरिटेज कम्प्लेक्समा आयोजित महोत्सवमा ३३ देशका फिल्म सहभागी थिए।

अवार्ड समारोहमा हिमाचल प्रदेशका गभर्नर कविन्दर गुप्ता र फेस्टिभल निर्देशक पुष्पराज ठाकुरले निर्देशक पाण्डेलाई अवार्ड प्रदान गरेका थिए।

‘द एभरेस्ट ड्रीम’ले गम्भीर मस्तिष्क चोटपछि जीवनमा संघर्ष गरिरहेका बेलायती नागरिकहरूको एभरेस्ट बेस क्याम्प यात्राको कथा प्रस्तुत गर्छ। जेम्स लेम्बको नेतृत्वमा पाँच जना ब्रेन इन्जुरी सर्वाइभरसहित सात सदस्यीय टोलीले गरेको साहसिक यात्रालाई फिल्मको मुख्य कथाका रूपमा प्रस्तुत गरिएको छ।

स्कटल्याण्डमा गरिएको कठिन प्रशिक्षणदेखि नेपाल आएर हिमालयमा गरेको यात्रासम्मका अनुभव फिल्ममा समेटिएका छन्। शारीरिक र मानसिक चुनौतीका बाबजुद सपना पूरा गर्न सकिन्छ भन्ने सन्देश फिल्मले दिन्छ।

निर्देशक पाण्डेका अनुसार गम्भीर चोट वा कठिनाइले जीवनमा नयाँ सपना देख्न र त्यसलाई पूरा गर्न रोक्दैन भन्ने फिल्मको मुख्य सन्देश हो।

यसअघि ‘द एभरेस्ट ड्रीम’ले अमेरिकाको जर्जियामा आयोजित कब अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको थियो। शिम्लाको अवार्डसँगै फिल्मले अन्तर्राष्ट्रिय फेस्टिभलमा अर्को उपलब्धि थपेको छ।

सम्बन्धित समाचार

सबै