काठमाडौं । गायक खेम सेन्चुरीको रचना, संगीत र स्वर रहेको ‘बाहुनबाजे’ गीतविरुद्ध परेको उजुरीमा दुवै पक्षबीच सहमति भएको छ।
हिन्दुवादी अभियन्ताहरूले गीतले बाहुन समुदायलाई होच्याएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएपछि ब्यूरोले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो। बुधबारको छलफल निष्कर्षविहीन भएपछि बिहीबार पुनः छलफल गरिएको थियो। दोस्रो दिनको छलफलमा भने सहमति जुटेको हो।
सहमति पत्रमा सेन्चुरीले गीत सम्पादन गर्ने लिखित प्रतिबद्धता जनाएका छन्। सहमतिअनुसार गीतमा रहेको ‘खान्छौ कि खान्नौ बंगुरको मासु, लौ खाऊ न त सुंगुरको मासु’ भन्ने शब्द हटाइनेछ।
यस्तै, पूजा गर्ने क्रममा ब्राह्मणले खाएको भागलाई भिडियोमा ब्लर गर्ने र गीतको शीर्षक ‘बाहुनबाजे’ परिवर्तन गर्ने सहमति भएको छ।
गोधुली क्रियसन प्रालिले उत्पादन गरेको ‘बाहुन बाजे किन कासेको…’ बोलको गीत करिब एक महिनाअघि युट्युबमा सार्वजनिक भएको थियो। गीतमा खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको छ भने रचना तथा संगीत सेन्चुरीकै हो।
गीत र भिडियोले बाहुन समुदायलाई होच्याएको आरोप लगाउँदै हिन्दुवादी अभियन्ताहरूले साइबर ब्यूरोमा उजुरी दिएका थिए। उजुरीमा गीतले सनातन हिन्दू समुदायबीचको एकता र सद्भावमा असर पार्न खोजेको दाबी गरिएको थियो। विशेषगरी ‘खान्छौ कि खान्नौ बंगुरको मासु, लौ खाऊ न त सुंगुरको मासु’ भन्ने पंक्तिप्रति आपत्ति जनाइएको थियो।
ब्यूरोमा भएको दुई चरणको छलफलपछि गीत सम्पादन गर्ने र भिडियो तथा शीर्षकमा समेत परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको हो।