तनावबीच हँसाउन आयो ‘चमेलीको पोइ’, १८ वर्षपछि पर्दामा फर्किए ‘प्रेमचरो’

0 Shares

काठमाडौं । पछिल्लो समय विभिन्न सामाजिक, आर्थिक तथा व्यक्तिगत तनावबाट गुज्रिरहेका दर्शकलाई केही समय मनोरञ्जन दिने उद्देश्यसहित फिल्म ‘चमेलीको पोइ’ आज (असोज १६) देखि देशभरका हलमा प्रदर्शनमा आएको छ।

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्म प्रेम, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात, पारिवारिक सम्बन्ध र हास्यलाई केन्द्रमा राखेर निर्माण गरिएको हो। दर्शकलाई विशुद्ध मनोरञ्जन दिने उद्देश्य राखिएको फिल्मका पोस्टर, ट्रेलर तथा गीतले प्रदर्शनअघि नै चर्चा पाएका छन्।

फिल्मको ‘माया मान्छौ र..’ गीतले युट्युबमा ३४ लाखभन्दा बढी भ्युज पाइसकेको छ भने गीतमा आधारित लाखौं टिकटक तथा छोटा भिडियो निर्माण भएका छन्। त्यस्तै, फिल्मको शीर्ष गीत ‘ओइ ओइ चमेली’ले पनि १८ लाखभन्दा बढी भ्युज पाइसकेको निर्माण पक्षले जनाएको छ।

१८ वर्षपछि पर्दामा ‘प्रेमचरो’

‘चमेलीको पोइ’को प्रमुख आकर्षणमध्ये वरिष्ठ हास्य कलाकार नारायण त्रिपाठी ‘प्रेमचरो’को कमब्याकलाई लिइएको छ। करिब १८ वर्षपछि उनी यही फिल्ममार्फत ठूलो पर्दामा फर्किएका हुन्।

कुनै समय ‘प्रेमचरो’ नामबाट दर्शकमाझ लोकप्रिय त्रिपाठी लामो समय अमेरिकामा बसेपछि नेपाली फिल्ममा पुनः सक्रिय भएका हुन्। अमेरिकामा रहँदा पनि फिल्ममा फर्किने इच्छा रहेको र यही फिल्ममार्फत दर्शकमाझ आउन पाउँदा खुसी लागेको उनले बताएका छन्।

अमेरिकामा गरिएको विशेष प्रदर्शनबाट प्राप्त दर्शक प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको त्रिपाठीको भनाइ छ।

अमेरिकामा पनि विशेष प्रदर्शन

नेपालमा प्रदर्शन हुनुअघि ‘चमेलीको पोइ’को अमेरिकाका विभिन्न स्टेटमा विशेष प्रदर्शन गरिएको थियो। निर्माण पक्षका अनुसार त्यहाँ सहभागी दर्शकबाट फिल्मको हास्य तथा मनोरञ्जनप्रधान प्रस्तुतिप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो।

अमेरिकामा रहेका नेपाली दर्शकमाझ गरिएको प्रदर्शनले फिल्मको डायस्पोरा बजारमा समेत चासो बढाएको निर्माण पक्षको दाबी छ।

हास्यप्रधान कथामा सुरक्षा र मुकुन

फिल्ममा सुरक्षा पन्त र मुकुन भुसाल मुख्य भूमिकामा छन्। उनीहरूसँगै नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, उमेश राई ‘फुलन्देकी आमा’, प्रेमदेव गिरी, गणेश गौतम, अंशु महर्जन, तारा शर्मा, रजनी गुरुङ, बबिन राई र खड्कबहादुर पुनलगायत कलाकारको अभिनय छ।

सुरक्षाले यसअघि निर्देशक बोहरासँग ‘भैरे’मा काम गरेकी थिइन्। ‘चमेलीको पोइ’मा आफूले चाहेजस्तो कथा, परिवेश र चरित्रमा काम गर्न पाएकोमा खुसी लागेको उनले बताएकी छन्।

अनुभवी टिमको निर्माण

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्मित फिल्मका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुन्। कार्यकारी निर्मातामा उदयविक्रम राणा, रितु मल्ल ठकुरी, सुमित्रा थापा र कपिल आचार्य छन्।

निर्देशक बोहरालाई लेखनमा शिवम अधिकारीले साथ दिएका छन्। शेरबहादुर तामाङको छायांकन, राजनराज शिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मको वितरण आरआर फिल्म्सले गरेको हो।

सम्बन्धित समाचार

सबै