७५ दिनमा ‘गौंथली’को कलेक्सन २६ करोड, ९ लाख ४३ हजार टिकट बिक्री

0 Shares

काठमाडौं । डा. कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ले प्रदर्शनको ७५ दिन पूरा गर्दै २६ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

साउन १ गतेदेखि हलमा प्रदर्शन भइरहेको फिल्म असोज १५ गतेबाट ७६औँ दिनमा प्रवेश गरेको हो। निर्माता सुमन गिरीले फिल्मले हालसम्म २६ करोड रुपैयाँ कमाएको जानकारी दिएका छन्।

निर्माता गिरीका अनुसार फिल्मका ९ लाख ४३ हजार ३३१ टिकट बिक्री भइसकेका छन्।

यसअघि फिल्म विकास बोर्डको सिनेपाः विवरणमा असोज ११ गतेसम्म ‘गौंथली’को ग्रस कलेक्सन २५ करोड ९५ लाख ८४ हजार ६४० रुपैयाँ रहेको उल्लेख थियो। पछिल्लो कलेक्सन जोडिँदा फिल्मको कमाइ २६ करोड पुगेको हो।

निर्माण पक्षले ‘गौंथली’लाई नेपाली फिल्म उद्योगकै दोस्रो धेरै कमाउने फिल्मका रूपमा दाबी गरेको छ। सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको सूचीमा ‘पूर्ण बहादुरको सारङ्गी’ पहिलो स्थानमा रहेको छ।

फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गरेका छन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। फिल्मका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन्।

सम्बन्धित समाचार

सबै