५४ शो हाउसफूल, ‘बाः एक योद्धा’मा दर्शकको चाप

0 Shares

काठमाडौं । फिल्म ‘बाः एक योद्धा’ले प्रदर्शनको दोस्रो शनिबार पनि दर्शकको राम्रो साथ पाएको छ । शनिबारका लागि प्राप्त ७४ शोमध्ये दिउँसो साढे १२ बजेसम्म ५४ शो हाउसफूल भएका छन् ।

अग्रिम बुकिङमै अधिकांश शोका टिकट बिक्री भएपछि दर्शकको चाप व्यवस्थापन गर्न हलहरूले थप शो सञ्चालन गर्न थालेका छन् । निर्माता वसन्त लम्सालका अनुसार काठमाडौं, भक्तपुर, पोखरा र चितवनका हलमा शनिबार थप शो राखिएको छ ।

“अग्रिम बुकिङमा टिकट सकिएपछि मध्याह्नपछि हलहरूले शो थप्न थालेका छन्,” निर्माता लम्सालले भने ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन ६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । निर्माता पक्षका अनुसार शुक्रबारसम्म फिल्मको कुल ग्रस कलेक्सन १ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

दर्शकको चापसँगै शो अकुपेन्सी बढेपछि फिल्मको दैनिक ग्रस कलेक्सन पनि बढ्दो क्रममा रहेको निर्माण पक्षले जनाएको छ ।

‘बाः एक योद्धा’ले सन्तानको भविष्यका लागि बाबुआमाले गर्ने त्याग, संघर्ष तथा वृद्धावस्थामा उनीहरूले भोग्ने उपेक्षा र पीडालाई कथामा समेटेको छ ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकार छन् ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मका निर्माता वसन्त लम्साल, कार्यकारी निर्माता अनिल बुढाथोकी, लाइन प्रोड्युसर अर्जुन पौडेल र सह–निर्माता कृष्ण काफ्ले हुन् ।

सम्बन्धित समाचार

सबै