काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनको ‘स्पेस एण्ड डिजाइन एक्स्पो सिजन ६ र ७’ सुरु भएको छ। दुई दिनसम्म चल्ने एक्स्पोमा इन्टेरियर डिजाइन अध्ययनरत १०१ विद्यार्थीका सिर्जना तथा डिजाइन प्रस्तुत गरिएको छ।
शनिबार सुरु भएको एक्स्पोको उद्घाटन पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान र ‘मिस नेपाल वर्ल्ड २०२६’ दीपमाला ढकाललगायतले गरेका हुन्।
उद्घाटन कार्यक्रममा पूर्वमन्त्री प्रधानले युवापुस्तामा इन्टेरियर डिजाइनप्रति आकर्षण बढिरहेको बताउँदै यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आईआईएफटीले खेलेको भूमिकाको प्रशंसा गरे। मिस नेपाल ढकालले पनि एक्स्पोमा राखिएका डिजाइनका नमुना उत्कृष्ट रहेको बताउँदै विद्यार्थीलाई शुभकामना दिइन्।
आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाका अनुसार विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक र सिर्जनात्मक सीप प्रदान गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो। यसपटक ‘क्याफे डिजाइन’ र ‘थेसिस डिजाइन’ विधामा विद्यार्थीबीच प्रदर्शनी तथा प्रतिस्पर्धा भइरहेको छ।
उत्कृष्ट डिजाइन प्रस्तुत गर्ने विद्यार्थीलाई पुरस्कार तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। विद्यार्थीका सिर्जनालाई व्यावसायिक क्षेत्रसँग जोड्नुका साथै उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नु एक्स्पोको उद्देश्य रहेको शेर्पाले बताए।
एक्स्पो आइतबार साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। सिटी सेन्टरको भुइँतलादेखि तेस्रो तलासम्म फैलिएको प्रदर्शनीमा विद्यार्थीले अध्ययन तथा प्रशिक्षणका क्रममा तयार पारेका क्याफे, थेसिस तथा अन्य इन्टेरियर डिजाइनका नमुना प्रस्तुत गरेका छन्।
असोज १८ गते दिउँसो ४ बजे एक्स्पोस्थलमै दीक्षान्त समारोहसमेत आयोजना गरिने आयोजकले जनाएको छ।
शेर्पाले एक्स्पो विद्यार्थीको शैक्षिक उपलब्धि प्रदर्शन गर्ने थलो मात्र नभई इन्टेरियर डिजाइन, निर्माण, होटल तथा रेस्टुरेन्ट, क्याफे, रियल इस्टेट र उद्यमशीलताका क्षेत्रका व्यवसायी तथा पेशेवरलाई नयाँ प्रतिभा चिन्ने अवसरसमेत भएको बताए।
नयाँ क्याफे, रेस्टुरेन्ट, होटल, कार्यालय तथा अन्य व्यावसायिक संरचना निर्माण वा पुनःडिजाइनको योजना बनाइरहेका व्यवसायीका लागि एक्स्पो उपयोगी हुने उनको भनाइ छ। उनले सम्बन्धित क्षेत्रका व्यवसायी, पेशेवर तथा उद्यमीलाई एक्स्पो अवलोकन गर्न आग्रह गरेका छन्।
एक्स्पोलाई पावर्ड बाई प्रायोजकका रूपमा ल्यामिनार भिट्रिफाइड टायल्स र शेर्पा ग्रुप, पेन्ट पार्टनरका रूपमा बर्जर पेन्ट्स तथा एसोसिएट पार्टनरका रूपमा प्यासन टिस्यु र जेरोना डर्माको सहकार्य रहेको छ।