२५० बढी साइकल यात्रीसँगै ‘अक्षरा’को प्रचार

0 Shares

असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ले प्रचारप्रसारलाई तीव्र बनाएको छ। फिल्मको प्रचारका लागि आइतबार २५० भन्दा बढी साइकल यात्रीले कीर्तिपुरदेखि कपनस्थित क्लब मण्डलासम्म साइकल र्‍याली गरेका छन्।

‘अक्षरा’को टी–सर्ट लगाएर साइकल यात्रीहरू र्‍यालीमा सहभागी भएका थिए। निर्देशक विनयराज पौडेलका अनुसार प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मलाई दर्शकमाझ पुर्‍याउने उद्देश्यले र्‍याली आयोजना गरिएको हो।

र्‍यालीमा अभिनेत्री न्यान्सी खड्का, पुष्कर राउत, निर्माता तथा निर्माण पक्षका सदस्यहरूको सहभागिता थियो।

युनिभर्सल सर्टिफिकेट प्राप्त ‘अक्षरा’ २ घण्टा १४ मिनेट लामो छ। फिल्मले छोरीले सुख पाउने आशामा नचिनेको धनी परिवारको केटासँग विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्याको कथा प्रस्तुत गर्छ।

उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको फिल्ममा न्यान्सी खड्कासहित सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारीलगायत कलाकारको अभिनय छ। बालकलाकारतर्फ रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बनेको फिल्मको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन्। पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन्।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्मलाई दीपेन बस्न्यातले खिचेका छन् भने गौतम खड्का सम्पादक हुन्। नेपाल वितरणको जिम्मा नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले लिएका छन्। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ।

सम्बन्धित समाचार

सबै