नेपाली फिल्ममा नयाँ प्रयोग! ‘टनेल २६’बारे अनुप बिक्रमको यस्तो खुलासा

0 Shares

काठमाडौं । अभिनेता अनुप बिक्रम शाहीले ‘टनेल २६’ नेपाली फिल्म उद्योगकै पहिलो जम्बी फिल्म भएको दाबी गरेका छन्।

फिल्मबारे कुरा गर्दै अनुपले ‘टनेल २६’मा यसअघि नेपाली फिल्ममा खासै नदेखिएको कथा प्रस्तुत गरिएको बताए। उनका अनुसार फिल्ममा हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलरको मिश्रण रहेकाले यी विधा मन पराउने दर्शकका लागि फिल्म विशेष हुन सक्छ।

उनले भने, ‘हामीले यसमा एउटा बिल्कुलै भिन्न कथा लिएका छौँ। यो जम्बी विधामा बनेको फिल्म हो। नेपाली फिल्म उद्योगको इतिहास हेर्दा पहिलोपटक हामीले जम्बी फिल्म बनाउने प्रयास गरेका छौँ। त्यसैले विशेषगरी हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलर मन पराउने दर्शकलाई यो फिल्म अवश्य मन पर्छ जस्तो लाग्छ।’

भारत, भुटान र नेपालको सहकार्यमा निर्माण भएको फिल्म असोज २३ गते अर्थात् अक्टोबर ९ मा रिलिज हुँदैछ।

फिल्मको निर्माण नेपाल, भारत र भुटानको सहकार्यमा भए पनि यसलाई भुटानी फिल्मका रूपमा बुझ्न नहुने उनले स्पष्ट पारे। नेपालमा फिल्म नेपाली भाषामा, भुटानमा भुटानी भाषामा र भारतमा त्यहाँको भाषाअनुसार डब गरेर रिलिज गरिने उनले बताए।

‘यो भारत, भुटान र नेपालको सहकार्यमा बनेको फिल्म हो। नेपालमा रिलिज हुँदा यो फिल्म निश्चित रूपमा नेपाली भाषामा रिलिज हुन्छ। भुटानमा रिलिज हुँदा भुटानी भाषामा हुन्छ।’, उनले भने, ‘त्यसैले नेपालमा रिलिज हुने हिसाबले यो हाम्रो आफ्नै नेपाली फिल्म हो। हामीले धेरै भारतीय फिल्महरू पनि नेपालीमा डब गरेर हेर्ने गरेका छौँ। तर भाषा परिवर्तन हुँदैमा त्यो भारतीय फिल्म हुन छोड्दैन।’

वास्तविक टनेलभित्र गरिएको सुटिङका क्रममा निकै कठिन अनुभव भए पनि अहिले फिल्मको टिजर र दर्शकको प्रतिक्रियाले ती सबै दुःख बिर्साएको अनुले बताए।

‘टनेल २६’को टिजरले राम्रो प्रतिक्रिया पाइरहेको र फिल्मप्रति दर्शकको कौतुहलता बढेको उनको भनाइ छ।

सम्बन्धित समाचार

सबै