पुष्प र प्रशंसासँगै ‘सिन्दूर’मा विपिन–निरुता

0 Shares

दाङमा छायांकन भइरहेको फिल्म ‘सिन्दूर’मा कलाकारको लाइनअप थपिँदै गएको छ। फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री निरुता सिंहको प्रवेश भएको निर्माणपक्षले जानकारी दिएको छ।

लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा निर्माण भइरहेको फिल्ममा यसअघि पुष्प खड्का र प्रशंसा रायमाझीको नाम सार्वजनिक गरिएको थियो। अब विपिन र निरुताको प्रवेशसँगै फिल्मको कलाकार टोली थप बलियो बनेको छ।

निर्देशक सुनारका अनुसार निरुताले केही दिनमै छायांकन सुरु गर्नेछिन् भने विपिन दशैंपछि सेटमा जोडिनेछन्। उनीहरूले फिल्ममा कुन भूमिका निर्वाह गर्नेछन् भन्नेबारे भने निर्माणपक्षले जानकारी दिएको छैन।

कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा.लिको सहकार्यमा निर्माण भइरहेको फिल्ममा सञ्जिव सार्कीको लगानी र दिनेश सिंह महराको कार्यकारी निर्माण छ।

एक महिनाको छायांकन सेड्यूल बनाएर दाङमा फिल्मको काम भइरहेको छ। सामाजिक कथावस्तुमा आधारित फिल्मले महिलाका लागि सिन्दूरको महत्वलाई कथाको केन्द्रमा राखेको निर्देशक सुनारले बताएका छन्।

संकल्प भुजेलको छायांकन, प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत तथा एनवी महर्जनको एक्सन निर्देशन फिल्मका प्रमुख प्राविधिक पक्ष हुन्। प्रकाश हमाल निर्माण प्रमुख, करण बहादुर साउद मुख्य सहायक निर्देशक र रामजी लामिछाने नृत्य निर्देशक छन्।

रोहित वली र विकेश लामा प्रोडक्सन म्यानेजर तथा मदन सुरखेती सह–लेखक रहेको फिल्मको प्रदर्शन मिति तय हुन बाँकी छ।

सम्बन्धित समाचार

सबै