पहिलो फिल्ममै राजवंशीलाई एए फिल्म्सको साथ, ‘हिमालयन गोल्ड’ भारतभर रिलिज हुने

0 Shares

नेपाली फिल्म ‘हिमालयन गोल्ड’ले भारत प्रदर्शनका लागि ठूलो सम्झौता गरेको छ। धिराज राजवंशी निर्देशित फिल्मलाई भारतको प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्सले भारतभर रिलिज गर्ने भएको हो।

मुम्बईमा एए फिल्म्सका संस्थापक अनिल थडानीसँग फिल्मको भारत वितरणसम्बन्धी औपचारिक सम्झौता भएको निर्माणपक्षले जनाएको छ। आगामी मंसिर ४ गते अर्थात् नोभेम्बर २०बाट रिलिज हुने फिल्म भारतभर प्रदर्शनमा आउनेछ।

‘बाहुबली’, ‘आरआरआर’, ‘केजीएफः च्याप्टर २’, ‘पुष्पा’, ‘कान्तारा’लगायत चर्चित फिल्म वितरण गरिसकेको एए फिल्म्ससँगको सहकार्यलाई नेपाली फिल्मको भारत यात्राका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

अनिल थडानीले ‘हिमालयन गोल्ड’को कथा भारतीय दर्शकले अनुभव गर्नुपर्ने बताए। उनका अनुसार भाषाको सीमाभन्दा माथि उठेर उत्कृष्ट कथालाई दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित एए फिल्म्स फिल्मसँग जोडिएको हो।

निर्देशक राजवंशीले भने यो उपलब्धि आफ्नो व्यक्तिगत करियरसँगै नेपाली फिल्म उद्योगकै लागि ठूलो प्रेरणा भएको बताएका छन्।

“‘हिमालयन गोल्ड’को सम्भावनालाई विश्वास गरेर भारतभर प्रदर्शनको अवसर दिनुभएकोमा म अनिल थडानी र एए फिल्म्सप्रति साँच्चै आभारी छु,” उनले भने, “मेरो पहिलो चलचित्रमै यति ठूलो साथ पाउनु मेरो लागि सबै थोक हो।”

फिल्ममा सुनिल थापा, राहुल एन. मुखिया, परीक्षा लिम्बू, सजन थापा र कर्मा शाक्य मुख्य भूमिकामा छन्। फिल्म सुनिल थापाको अन्तिम अभिनय रहेको निर्माणपक्षले जनाएको छ।

यसैबीच, फिल्मको ट्रेलर आगामी सोमबार सार्वजनिक हुँदैछ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माणपक्षले नेपाल र भारतका दर्शकलाई फिल्म हेर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै