फिल्म ‘छ माया छपक्कै २’ले नेपाल रिलिजअघि नै विदेश बजारमा राम्रो उपस्थिति बनाएको छ। आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको विदेश प्रदर्शन अधिकार नेपाली फिल्मको बजार रहेका अधिकांश देशमा बिक्री भएको निर्माणपक्षले जनाएको छ।
अष्ट्रेलिया, क्यानडा, अमेरिका, युरोप तथा मध्यपूर्वका विभिन्न देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री भइसकेको छ। अमेरिकामा अक्टोबर १६ तथा यूएई, कतार, बहराइन र ओमानलगायतका देशमा पनि अक्टोबर १६ बाटै फिल्म प्रदर्शनमा आउनेछ।
युरोपका लागि भने दशैं र तिहारलाई लक्षित गरेर रिलिज गर्ने तयारी भइरहेको छ।
अहिलेसम्म फिल्मको शीर्ष गीत मात्र सार्वजनिक गरिएको छ। फिल्मको कथावस्तु भने गोप्य राखिएको छ। कथावस्तुबारे जानकारी सार्वजनिक नहुँदै विदेश बजारमा प्रदर्शन अधिकार बिक्री हुनुलाई फिल्मप्रतिको अन्तर्राष्ट्रिय चासोका रूपमा हेरिएको छ।
नेपालमा भने फिल्म असोज ३१ गतेदेखि रिलिज हुँदैछ। दीपेन्द्र लामाको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिषा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य, रिहान गिरी र निर्मल शर्मालगायत कलाकारको अभिनय छ।