१०१ विद्यार्थीका सिर्जनासहित आईआईएफटीको डिजाइन एक्स्पो सम्पन्न

0 Shares

आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनको आयोजनामा भएको ‘स्पेस एन्ड डिजाइन एक्स्पो भोल्युम ६ र ७’ सम्पन्न भएको छ। दुई दिनसम्म काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा चलेको एक्स्पोमा इन्टेरियर डिजाइनका १०१ विद्यार्थीले तयार पारेका सिर्जना प्रदर्शन गरिएको थियो।

एक्स्पोमा क्याफे डिजाइन र थेसिस डिजाइन विधामा प्रदर्शनीसँगै प्रतिस्पर्धा आयोजना गरिएको थियो। थेसिस डिजाइनतर्फ ४२ र क्याफे डिजाइनतर्फ ७८ डिजाइन प्रदर्शनीमा राखिएका थिए। विद्यार्थीले आफ्नो अध्ययन तथा प्रशिक्षणका क्रममा तयार पारेका सिर्जनात्मक अवधारणा, व्यावहारिक डिजाइन र इन्टेरियर डिजाइनका नमुना सिटी सेन्टरको भुइँतलादेखि तेस्रो तलासम्म प्रस्तुत गरेका थिए।

भोल्युम ६ को क्याफे डिजाइनतर्फ रुची बानियाँ विजेता बनिन् भने ग्रिष्मा बोगटी प्रथम रनरअप र स्मृति श्रेष्ठ दोस्रो रनरअप भए। थेसिस डिजाइनतर्फ दिपेश माली विजेता, समिना महर्जन प्रथम रनरअप र अनिशा खड्गी दोस्रो रनरअप बने।

भोल्युम ७ को क्याफे डिजाइनतर्फ विवेक श्रेष्ठले विजेताको उपाधि जित्दा समृद्धि श्रेष्ठ प्रथम रनरअप र शोभा अधिकारी दोस्रो रनरअप बने। थेसिस डिजाइनतर्फ एन्जल सिंह महर्जन विजेता, ग्रिष्मा बोगटी प्रथम रनरअप र सुसेना लिम्बू दोस्रो रनरअप भए।

क्याफे डिजाइनतर्फ निकल भैला श्रेष्ठले पब्लिक च्वाइस अवार्ड प्राप्त गरे भने थेसिस डिजाइनतर्फ अनिशा थापाले उक्त अवार्ड हात पारिन्।

क्याफे डिजाइनका विजेता, प्रथम रनरअप र दोस्रो रनरअपले क्रमशः १२ हजार, १० हजार र ८ हजार रुपैयाँसहित ट्रफी पाए। थेसिस डिजाइनतर्फ विजेताले १५ हजार, प्रथम रनरअपले १२ हजार र दोस्रो रनरअपले १० हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे।

माल्टाका लागि नेपाली कन्सुलर दिनेश श्रेष्ठ र आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पालगायतले विजेतालाई पुरस्कार प्रदान गरेका थिए। कन्सुलर श्रेष्ठले प्रयोगात्मक र सिर्जनात्मक कार्यक्रमले विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा अघि बढ्न महत्वपूर्ण सहयोग गर्ने बताए।

प्रबन्ध निर्देशक शेर्पाले नेपालमा दक्ष फेसन तथा इन्टेरियर डिजाइनरको आवश्यकता पूरा गर्ने उद्देश्यले आईआईएफटीले विद्यार्थीलाई व्यावसायिक शिक्षासँग जोड्दै आएको बताए। उनले एक्स्पोले विद्यार्थीका शैक्षिक उपलब्धि प्रदर्शन गर्नुका साथै इन्टेरियर डिजाइन, निर्माण, होटल तथा रेस्टुरेन्ट, क्याफे, रियल इस्टेट र उद्यमशीलतासँग सम्बन्धित व्यवसायी तथा पेशेवरलाई नयाँ प्रतिभा पहिचान गर्ने अवसर दिएको बताए।

एक्स्पोको समापनसँगै आईआईएफटीबाट उत्तीर्ण विद्यार्थीका लागि दीक्षान्त समारोहसमेत आयोजना गरिएको थियो।

सम्बन्धित समाचार

सबै