काठमाडौं । लेखक सरोज भट्टराईको पहिलो पुस्तक ‘कलेजी प्रेम’ सार्वजनिक गरिएको छ। प्रेम, सम्बन्ध र मानवीय संवेदनासँगै समाज तथा देशप्रेमका भावलाई समेटिएको पुस्तक एक समारोहबीच लोकार्पण गरिएको हो।
पुस्तक लोकार्पण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की प्रमुख अतिथि थिए। नबिल बैंकका सीईओ मनोज ज्ञवाली र साहित्यकार तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा ‘कलेजी प्रेम’का समीक्षक दीपशिखा घिमिरे र नवीन खत्रीले पुस्तकका विषयवस्तु तथा यसको भाव पक्षबारे आफ्ना धारणा राखेका थिए।
लेखक भट्टराईले पुस्तकलाई केवल प्रेमकथाका रूपमा बुझ्न नहुने बताएका छन्। उनका अनुसार ‘कलेजी प्रेम’ले प्रेम र सम्बन्ध हुँदै समाज, जीवन तथा राष्ट्रप्रतिको भावनासम्मलाई एउटै संवेदनात्मक यात्रामा जोड्ने प्रयास गरेको छ।
लोकार्पण कार्यक्रममा साहित्यकार, पाठक, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो।
पुस्तक सार्वजनिक गर्ने अवसरमा लेखक भट्टराईले समारोहमा सहभागी भएर कार्यक्रमलाई गरिमामय बनाउने अतिथि, साहित्यकार, पाठक तथा शुभेच्छुक सबैप्रति आभार व्यक्त गरेका छन्।