पल–मलिकाको ‘अचेल किन कान्छी’ले युट्युबमा मच्चायो धमाका, युट्युबको ट्रेन्डिङ नम्बर वानमा

0 Shares

काठमाडौँ । पल शाह र मलिका महतको जोडीलाई दर्शकले रुचाएको देखिएको छ। फिल्म ‘आ बाट आमा २’मा समावेश ‘अचेल किन कान्छी’ गीतको भिडियोले ६० लाख ५० हजारभन्दा बढी भ्युज पाएको छ। रिलिजको सातौँ दिनमै गीत युट्युबको ट्रेन्डिङ नम्बर वानमा पर्न सफल भएको हो।

समाचार तयार पार्दासम्म गीतको भिडियोमा एक लाखभन्दा बढी लाइक छन् भने ६ हजार ६ सयभन्दा बढी कमेन्ट प्राप्त भएका छन्। कमेन्टमा दर्शकले पल र मलिकाको जोडीको प्रशंसा गरेका छन्। केही दर्शकले उनीहरूलाई नेपाली फिल्म क्षेत्रका ‘राजा–रानी’को संज्ञासमेत दिएका छन्।

कमेन्टकर्तामध्ये प्रेम कुमारले लेखेका छन्, ‘नेपाली फिल्म इन्डस्ट्रीका राजा–रानी पल र मलिका साँच्चिकै भन्नुपर्दा एकदमै परफेक्ट जोडी हुन्। नेपाली फिल्म क्षेत्रका लागि यो जोडी निकै राम्रो र भाग्यमानी जोडी बन्न सक्छ। निर्देशक तथा निर्माता ज्युहरूको पनि ध्यान यो जोडीमाथि जाओस्। आउँदा दिनमा पल र मलिकाको जोडीलाई लिएर अझ धेरै राम्रा, स्तरीय र दर्शकको मन छुने फिल्महरू हेर्न पाइयोस्।’

निर्देशक चन्द्र पन्तले दर्शकको चाहनाअनुसार नै पल र मलिकाको जोडीलाई फिल्ममा प्रस्तुत गरिएको बताए। उनले भने, ‘दर्शकको मागअनुसार नै हामीले फिल्मको कथा लेखेका हौँ र सोही जोडीलाई फिल्ममा राख्दा दर्शक खुसी हुनुभएको हो।’

एक साताअघि सार्वजनिक गरिएको ‘अचेल किन कान्छी’ फिल्मको अहिलेसम्मकै चर्चित गीत बनेको छ। गीतले छोटो समयमै ६० लाखभन्दा बढी भ्युज पाएको छ भने चाँडै एक करोड भ्युज पार गर्ने संकेत देखिएको छ।

डान्सिङ शैलीको गीतमा पल शाह, मलिका महतसँगै आकाश श्रेष्ठलाई पनि देख्न सकिन्छ। सामूहिक विवाहको परिवेशमा प्रस्तुत गीतमा पल र मलिकाको जोडीको बीचमा आकाश खलनायकको भूमिकामा देखिएका छन्। उनी किन खलनायकको भूमिकामा प्रस्तुत भएका हुन् भन्ने प्रश्नको जवाफ भने फिल्म हेरेपछि मात्र थाहा हुनेछ।

‘आ बाट आमा २’ पल शाह र मलिका महतको पहिलो फिल्म सहकार्य हो।

गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन्। गीतमा शब्द तथा संगीत बाबुल गिरीको रहेको छ भने रवि ओड र गंगा सोनामले स्वर दिएका छन्। कोरसमा शंकरसिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालको स्वर सुन्न सकिन्छ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायत कलाकारको मुख्य भूमिका छ।

फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टको रहेको छ। करण सिंह फिल्मको प्रोडक्सन एक्जिक्युटिभ हुन्। नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो। फिल्मलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्दैछ।

‘आ बाट आमा २’ असोज ३० गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।

सम्बन्धित समाचार

सबै