शाहिद–सोनाक्षीका ड्राइभर सुरज लामाको भाइरल मःम पसल महाराष्ट्र सरकारले गर्‍यो बन्द

0 Shares

मुम्बई । बलिउड अभिनेता शाहिद कपुर र सोनाक्षी सिन्हाका पूर्वड्राइभर सुरज लामाले सुरु गरेको चर्चित ‘सुरज लामा मोमोज’ अहिले महाराष्ट्र फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)को कारबाहीमा परेको छ।

महाराष्ट्र एफडिएले पर्वको सिजनलाई लक्षित गर्दै सञ्चालन गरेको खाद्य सुरक्षा अभियानअन्तर्गत सोमबार आठवटा खाद्य व्यवसायको लाइसेन्स निलम्बन गरेको हो। निलम्बित व्यवसायमा मुम्बईको अन्धेरी वेस्टस्थित ‘सुरज लामा मोमोज’को मूल शाखासमेत परेको छ।

एफडिए का अनुसार पसलमा खाद्य पदार्थको व्यवस्थापन तथा भण्डारण, सरसफाइ, स्वच्छता र खाद्य पदार्थमा संक्रमण हुन नदिने सुरक्षात्मक व्यवस्थामा कमजोरी भेटिएको थियो। प्राधिकरणले यी कमजोरीलाई गम्भीर मानेर तत्काल कारबाही गरेको जनाएको छ।

तर, सुरज लामाको व्यवसायसम्मको यात्रा भने निकै रोचक छ।

दार्जिलिङको मिरिकबाट १४ वर्षको उमेरमै रोजगारीको खोजीमा मुम्बई आएका सुरजले सुरुमा विभिन्न काम गरे। पछि उनी सेलिब्रिटी ड्राइभर बने। करिब २५ वर्ष ड्राइभरका रूपमा काम गर्ने क्रममा उनले शाहिद कपुर र सोनाक्षी सिन्हालगायत कलाकारको गाडी चलाए। उनले करण जोहरको धर्मा प्रोडक्सनसँग सम्बन्धित व्यक्तिहरूसँग पनि काम गरेका थिए।

लामो समय सेलिब्रिटीको नजिक रहेर काम गरे पनि आफूलाई कहिलेकाहीँ समान व्यवहार नगरिएको महसुस भएको उनले एक अन्तर्वार्तामा बताएका थिए।

त्यसपछि सन् २०१७ मा उनले ड्राइभरको जागिर छाडेर मोमो बेच्ने निर्णय गरे। उनले आफ्नो मोटरसाइकल बेचेर साइकल किने र अन्धेरी वेस्टका विभिन्न क्षेत्रमा साइकलमा मोमो बेच्न थाले।

उनकी पत्नी विजयताले पनि जागिर छाडेर उनलाई व्यवसायमा साथ दिइन्। त्यसअघि उनी गायक केकेको घरमा कुकका रूपमा काम गर्थिन्।

सुरजले आफ्ना मोमो सोनाक्षी सिन्हा र उनको परिवारलाई समेत खुवाएका थिए। उनीहरूबाट सकारात्मक प्रतिक्रिया पाएपछि उनले व्यवसायमा थप आत्मविश्वासका साथ अघि बढे।

साइकलमा मोमो बेच्न थालेको व्यवसाय विस्तार हुँदै भर्सोभामा पसलसम्म पुग्यो। त्यसपछि मालाड र कान्दिवलीमा पनि शाखा विस्तार गरियो।

सुरजका अनुसार अहिले मुम्बईमा रहेको केन्द्रीय किचनबाट दैनिक करिब १६ हजार मोमो तयार हुन्छन्। उनकी पत्नीको निगरानीमा सञ्चालन हुने किचनमा करिब २५ कर्मचारी कार्यरत छन्।

उनले यसअघि आफ्नो मोमोमा आमाको रेसिपी प्रयोग गर्ने र प्रिजर्भेटिभ तथा कृत्रिम रंग प्रयोग नगर्ने दाबी गरेका थिए।

तर, खाद्य गुणस्तरमा जोड दिएको बताउँदै आएको यही व्यवसायको अन्धेरी वेस्टस्थित मूल शाखाको लाइसेन्स अहिले FDA ले निलम्बन गरेको छ।

सम्बन्धित समाचार

सबै