९० दिनमा सकियो ‘जुबा’को छायांकन

0 Shares

९० दिनमा सकियो सौगात मल्ल स्टारर ‘जुबा’को छायांकन
सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘जुबा’को छायांकन सम्पन्न भएको छ । अस्त्र फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्मको छायांकन ९० दिनमा पूरा भएको निर्माण टिमले जनाएको छ ।
फिल्मको छायांकन नेपालको सर्लाही, दाप्चा, काठमाडौं र भक्तपुरका विभिन्न स्थानसँगै भारतको राजस्थानमा गरिएको हो । निर्माण टिमका अनुसार निर्धारित तालिकाभन्दा बढी समय लिएर कथावस्तु र दृश्यको आवश्यकताअनुसार फिल्मको छायांकन गरिएको हो ।
कलाकार तथा प्राविधिकको मेहनत र सहकार्यमा छायांकन सम्पन्न भएको जनाउँदै निर्माण टिमले अब पोस्ट–प्रोडक्सनमा पनि पर्याप्त समय र ध्यान दिने जनाएको छ । दर्शकलाई उत्कृष्ट फिल्म प्रस्तुत गर्ने उद्देश्यले निर्माणको हरेक चरणमा गुणस्तरलाई प्राथमिकता दिइएको टिमको भनाइ छ ।
अस्त्र फिल्मसको ब्यानरमा निर्मित ‘जुबा’की निर्मात्री सजना थापा हुन् भने सहनिर्माता शेखर पाण्डे हुन् । फिल्मको कथा तथा निर्देशन प्रकाश कर्णको रहेको छ भने लेखन वर्षा पौडेलले गरेकी छन् ।
फिल्ममा सौगात मल्लसँगै सोफी धरेल र सुधन पोखरेल मुख्य भूमिकामा छन् । सोफीले ‘जुबा’बाट अभिनयमा डेब्यु गर्दैछिन् । सुधनको यो तेस्रो फिल्म भए पनि मुख्य भूमिकामा भने पहिलो हो । उनले यसअघि अभिनय गरेका दुई फिल्म प्रदर्शन हुन बाँकी छन् ।
‘जुबा’को निर्माण घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो । पोस्टरमा सौगातको एकल लुक्स, पीसीओबाट फोनमा कुराकानी गरिरहेको दृश्य तथा सिगारसहितको सुधनको लुक्स प्रस्तुत गरिएको थियो । सुधनको लुक्सले उनको भूमिका खलपात्रको हुन सक्ने संकेत गरेको थियो ।
कलाकारको पहिरन, गेटअप र दृश्य परिवेशले फिल्मको कथा करिब दुई दशकअघिको समयसँग सम्बन्धित हुन सक्ने संकेत गर्छ । यद्यपि, फिल्मको विस्तृत कथावस्तु निर्माण टिमले सार्वजनिक गरेको छैन ।
‘जुबा’को प्रदर्शन मिति भने तय भइसकेको छैन । पोस्ट–प्रोडक्सनको प्रगतिसँगै उपयुक्त प्रदर्शन मिति तय गरी छिट्टै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।

सम्बन्धित समाचार

सबै