रचना रिमालको स्वरमा ‘अक्षरा’को स्याड सङ, न्यान्सीको पीडादेखि सुशील–रिस्ताको भावुकतासम्म

0 Shares

काठमाडौँ । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अक्षरा’को नयाँ गीत ‘भाग्यले होकी’ सार्वजनिक गरिएको छ । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मको स्याड सङ निर्माण टिमले प्रदर्शनको तीन दिनअघि सार्वजनिक गरेको हो ।

रचना रिमालको स्वरमा रहेको गीतको भिडियोमा न्यान्सी खड्का, सुशील सिटौला र रिस्ता अधिकारीलाई भावुक अवस्थामा देखाइएको छ । ‘भाग्यले होकी मलाई जिन्दगीले ढाँट्यो’ भन्ने भाव बोकेको गीतमा न्यान्सीको पीडा प्रमुख रूपमा प्रस्तुत गरिएको छ ।

सुशील र रिस्तालाई पनि भावुक अवतारमा प्रस्तुत गरिएको गीतले फिल्मको कथामा उनीहरूको सम्बन्ध र घटनाक्रमलाई लिएर कौतूहल बढाएको छ । गीतको भिडियोमा देखाइएको घटनाको वास्तविकता भने फिल्म हेरेपछि मात्रै थाहा हुनेछ ।

सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहेको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

असोज २३ गतेदेखि प्रदर्शनमा आउने ‘अक्षरा’मा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्कालगायतको अभिनय छ । बालकलाकारमा रोनक खड्का र प्रीसा ढुङ्गाना छन् ।

उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको फिल्ममा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता छन् । क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बनेको फिल्मको कथा उग्रसेन ढुङ्गानाको हो ।

पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा लेखेका हुन् । सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्मलाई दिपेन बस्न्यातले खिचेका छन् । सम्पादन गौतम खड्काले गरेका छन् ।

नेपालभर फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले गर्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।

 

सम्बन्धित समाचार

सबै