काठमाडौं । एक्सनप्रधान टिजरबाट दर्शकको ध्यान तानेको फिल्म ‘१२ गाउँ २’ले गीतमार्फत आफ्नो रोमान्टिक पाटो पनि सार्वजनिक गरिरहेको छ । विराज भट्टको निर्देशन तथा निर्माण रहेको फिल्मको ‘जुनेली’, ‘लालीगुराँस’पछि ‘रेशमी रुमाल’ सार्वजनिक गरिएको हो ।
‘जुनेली’मा समीर भट्ट र कृशु शाहीको प्रेमिल जोडी देखाइएको थियो । सुगम पोखरेलको स्वरमा रहेको उक्त गीत समीरको डान्स र ब्रेकडान्सका कारण पनि चर्चामा आएको थियो ।
त्यसपछि सार्वजनिक ‘लालीगुराँस’ले समीर र कृशुको प्रेमसम्बन्धलाई थप उजागर गर्यो । एक्सन र बदलाको कथालाई प्राथमिकतामा राखिएको टिजरपछि आएको यो गीतले फिल्ममा प्रेमकथा पनि महत्वपूर्ण रहेको संकेत गरेको थियो ।
बुधबार सार्वजनिक ‘रेशमी रुमाल’मा भने विराज भट्ट र वर्षा इटानीलाई केन्द्रमा राखिएको छ । यससँगै फिल्मका गीतहरूले फरक–फरक पात्र र सम्बन्धमार्फत कथाको भावनात्मक पाटो विस्तारै खोल्दै गएको देखिन्छ ।
फिल्मको मुख्य आकर्षण एक्सन भए पनि निर्माण पक्षले गीतमार्फत प्रेम, भावना र पारिवारिक सम्बन्धलाई पनि दर्शकमाझ प्रस्तुत गरिरहेको छ । यसले फिल्मलाई केवल द्वन्द्वप्रधान फिल्मका रूपमा बुझ्ने अपेक्षालाई केही फराकिलो बनाएको छ ।
‘१२ गाउँ २’मा विराज, समीर, कृशु र वर्षासहित अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकार छन् ।
कृशु शाही र वर्षा इटानीले यही फिल्मबाट नेपाली फिल्ममा डेब्यु गर्दैछन् ।
दशैंको अवसरमा असोज ३० गते प्रदर्शनमा आउने फिल्ममा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
फिल्मको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन् ।