नेपालबाट पेरिससम्म: नेपाली मेकअप आर्टिस्ट लेमी तामाङको प्रेरक यात्रा

0 Shares

नेपालबाट सुरु भएको मेकअपप्रतिको रुचि, अन्तर्राष्ट्रिय फेसन उद्योगमा १३ वर्षभन्दा लामो अनुभव र आफ्नै दुईवटा सौन्दर्य ब्रान्ड। नेपाली मेकअप आर्टिस्ट तथा सौन्दर्य व्यवसायी लेमी तामाङको व्यावसायिक यात्राले उनलाई विश्वकै प्रतिष्ठित फेसन मञ्चमध्ये एक पेरिस फेसन विकसम्म पुर्‍याएको छ।

लेमी अहिले पेरिस फेसन विकमा ब्याकस्टेज मेकअप आर्टिस्टका रूपमा काम गरिरहेकी छन्। अन्तर्राष्ट्रिय फेसन उद्योगका डिजाइनर, मोडल, क्रिएटिभ तथा प्रोडक्सन टिमसँग सहकार्य गर्ने अवसर उनका लागि करियरको सुरुवातदेखि नै देखेको सपना पूरा हुनु हो।

फाइन आर्ट्सको पृष्ठभूमि भएकी लेमीले नेपालबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेकी थिइन्। कला र मेकअपप्रतिको रुचिलाई करियरमा रूपान्तरण गर्ने क्रममा उनी मुम्बई पुगिन्। त्यहाँ केही वर्ष काम गरेपछि उनको यात्रा दुबई, मिलान र न्यूयोर्कसम्म विस्तार भयो। यी सहरमा उनले फेसन शो, एडिटोरियल, कमर्सियल प्रोजेक्ट, प्रोडक्सन तथा विभिन्न सौन्दर्य अभियानमा काम गरिन्।

अन्तर्राष्ट्रिय अनुभवसँगै लेमीले आफ्नै व्यवसाय निर्माणमा पनि ध्यान दिइन्। सन् २०२१ मा उनले ‘Pastel Beauty’ स्थापना गरिन्। नेपाली बजारमा उच्च गुणस्तरका मेकअप उत्पादन सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो ब्रान्डले कम्प्लेक्सन प्रोडक्ट, विभिन्न मेकअप सामग्री र व्यावसायिक मेकअप ब्रस समेटेको छ। ब्रान्डका उत्पादन दक्षिण कोरियास्थित सौन्दर्य उत्पादन केन्द्रमा निर्माण हुँदै आएका छन्।

लेमीले सन् २०२५ मा ‘Bisou Beauty’ नामक अर्को ब्रान्ड पनि सुरु गरिन्। युवा पुस्तालाई लक्षित गर्दै रमाइलो शैली र आत्मअभिव्यक्तिलाई प्राथमिकता दिने यो ब्रान्डले किफायती मूल्यमा लिपस्टिकलगायत मेकअप सामग्री उपलब्ध गराउँदै आएको छ। आगामी दिनमा थप उत्पादन सार्वजनिक गर्ने तयारीसमेत भइरहेको छ।

नेपालबाट सुरु भएको यात्रा अन्तर्राष्ट्रिय फेसन मञ्चसम्म पुर्‍याउनु र त्यससँगै आफ्नै सौन्दर्य ब्रान्ड निर्माण गर्नु लेमीको करियरका दुई महत्त्वपूर्ण पक्ष हुन्। पेरिस फेसन विकमा उनको उपस्थितिले नेपाली मेकअप प्रतिभाका लागि अन्तर्राष्ट्रिय अवसरको सम्भावनालाई समेत उजागर गरेको छ।

सम्बन्धित समाचार

सबै