५ औैं सातामा ‘पेन्सन पट्टा’, कमाइ पुग्यो ९ करोड ५५ लाख, यो साता ११ करोड छुने अनुमान

0 Shares

दयाहाङ राई स्टारर फिल्म ‘पेन्सन पट्टा’ प्रदर्शनको पाँचौं हप्तामा प्रवेश गरेको छ। भदौ २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्मले हालसम्म ९ करोड ५५ लाख रुपैयाँ ग्रस कमाइ गरेको वितरक रोहित कट्टेलले जानकारी दिएका छन्।

पाँचौं हप्तामा पनि फिल्मको शो संख्या उत्साहजनक रहेको छ। देशभर झन्डै ७० भन्दा बढी शोमा प्रदर्शन भइरहेको फिल्मले यो साता ११ करोड रुपैयाँको आँकडा छुने अपेक्षा गरिएको छ।

यो कमाइसँगै ‘पेन्सन पट्टा’ यस वर्ष प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये बक्सअफिस कमाइका आधारमा दोस्रो स्थानमा उक्लिएको छ। यसअघि दोस्रो स्थानमा रहेको ‘लालीबजार’ तेस्रो स्थानमा झरेको छ।

फिल्म विकास बोर्डको आधिकारिक तथ्यांकअनुसार ‘लालीबजार’ले कुल ९ करोड ३२ लाख ९ हजार ९ सय २५ रुपैयाँ ८९ पैसा ग्रस कमाइ गरेको थियो।

माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ले प्रदर्शनका सुरुवाती दिनमा अपेक्षाकृत कमजोर व्यापार गरेको थियो। तर, मध्य सातादेखि कमाइमा सुधार गर्दै फिल्मले आफ्नो प्रदर्शन यात्रा अघि बढाएको हो।

भारतीय सेनामा कार्यरत बाबुको मृत्युपछि पेन्सनमा आमाको नामको सट्टा अर्कै महिलाको नाम उल्लेख भएको थाहा पाएपछि सानी आमाको खोजीमा निस्कने पात्रको कथामा फिल्म आधारित छ।

फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ र अनुशा राईलगायत कलाकारको अभिनय छ।

आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले फिल्मलाई देशभर वितरण गरेका हुन्। मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ फिल्मका निर्माता हुन्। डिबी गुरुङले प्रोडक्सन म्यानेजरको जिम्मेवारी सम्हालेका छन्।

सुशन प्रजापतिको छायांकन तथा सुरज तामुको कास्टिङ निर्देशन रहेको फिल्ममा मनोज थापा मगर, शिव बराइली र सुरज तामुको संगीत छ। निमेश श्रेष्ठ र केर डी कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेका छन्।

सम्बन्धित समाचार

सबै