काठमाडौं । पल शाह र मलिका महत अभिनीत फिल्म ‘आ बाट आमा २’ को नयाँ गीत ‘रातो टीका लाउँदा क्या दामी देखियो’ सार्वजनिक भएको छ। निर्माण टिमले बिहीबार युट्युबमार्फत गीत रिलिज गरेको हो।
दसैं, टीका र जमराको उत्सवमय माहोलमा तयार पारिएको गीतको भिडियोमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, रिश्ता गुरुङ र निकिता आचार्यलगायत कलाकार सामूहिक नृत्यमा देखिएका छन्। लाहुरेको भूमिकामा सविन श्रेष्ठ पनि प्रस्तुत छन्। सामूहिक विवाहको परिवेशमा कलाकारहरूको नृत्यलाई भिडियोमा समेटिएको छ।
गीतमा बाबुल गिरी र रचना रिमालको स्वर छ। शब्द र संगीत बाबुल गिरीले तयार पारेका हुन् भने कोरियोग्राफी गम्भीर बिष्टले गरेका छन्।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको अभिनय छ।
रोशन भट्ट र चन्द्र पन्तले संयुक्त रूपमा लेखेको फिल्मको संवाद रोशन भट्टले तयार पारेका हुन्। नवराज उप्रेतीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ। ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर हो।
प्रदर्शनको तयारीमा रहेको फिल्मले गीतमार्फत आफ्नो प्रचारप्रसारलाई अघि बढाएको छ।