काठमाडौं । असोज ३० गते शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा–२’को प्रचारप्रसारका लागि निर्माण टोली देश दौडाहामा छ। प्रचार अभियानअन्तर्गत बुटवलको गोलपार्कमा आयोजित कन्सर्टमा हजारौं दर्शक सहभागी भएका छन्।
पल शाह, मलिका महत र विपना थापासहितका कलाकारको प्रस्तुति हेर्न दर्शक बिहानैदेखि उपस्थित भएका थिए। कन्सर्टमा आकाश श्रेष्ठ, निकिता आचार्य र रिस्ता गुरुङले पनि प्रस्तुति दिएका थिए। गायक बाबुल गिरी तथा गायिकाहरू गंगा सोनाम र जुरीले फिल्मका गीत प्रस्तुत गरेका थिए।
बिहीबार सार्वजनिक गरिएको दशैं गीतमा कलाकारले नृत्य प्रस्तुत गर्दा दर्शकको उत्साह देखिएको थियो। निर्देशक चन्द्र पन्तले दर्शकको माया र साथले फिल्मको प्रचार अभियानलाई थप उत्साह मिलेको बताए।
कन्सर्टअघि फिल्मको टोलीले पत्रकारसँग भेटघाट तथा अन्तरक्रिया गरेको थियो। चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष मोहन न्यौपानेको संयोजनमा आयोजित कार्यक्रममा फिल्मका विषयमा छलफल गरिएको थियो।
चन्द्र पन्तको कथा तथा पटकथा रहेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, आकाश श्रेष्ठ, निकिता आचार्य, रिस्ता गुरुङलगायत कलाकारको अभिनय छ। फिल्मको संगीत बाबुल गिरीले दिएका छन्। नवराज उप्रेतीको छायांकन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ।
