काठमाडौं। रिबन इन्टरटेनमेन्टको आयोजनामा आगामी कात्तिक १४ गते राजधानीमा हुने ‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६’का प्रतियोगीहरू आइतबार राति आयोजित ‘द ग्ल्याम नाइट’मा र्याम्पमा प्रस्तुत भएका छन्।
प्रतियोगिताअन्तर्गत आयोजित फेसन शोमा सहभागीहरूले तीन विशेष सिक्वेन्समा र्याम्प वाक गरेका थिए। विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व र फेसनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी दिए।
अभिनेता राजेश हमाल, रमेश उप्रेती, जितु नेपाल, प्रमोद अग्रहरी, अभिनेत्री रेखा थापा, पूजा शर्मा, सुपुष्पा भट्ट तथा गायक आनन्द कार्कीलगायत सेलिब्रेटी सहभागी कार्यक्रममा प्रतियोगीहरूले ब्राइडल, निभिया र गाउन सिक्वेन्समा आफ्नो प्रस्तुति दिएका थिए।
ब्राइडल सिक्वेन्समा प्रतियोगीहरूले परम्परागत दुलही पहिरनको सौन्दर्य, सांस्कृतिक महत्त्व र आकर्षण प्रस्तुत गरेका थिए। निभिया सिक्वेन्समा सौन्दर्य तथा व्यक्तिगत हेरचाहसम्बन्धी ब्रान्ड प्रवर्द्धनलाई फेसनसँग जोडिएको थियो। गाउन सिक्वेन्समा भने प्रतियोगीहरूले आफ्नो व्यक्तित्व, आत्मविश्वास र र्याम्पमा प्रस्तुति दिने क्षमता प्रदर्शन गरेका थिए।
कार्यक्रममा राजेश हमाल, रेखा थापा, पूजा शर्मा र सुपुष्पा भट्टले प्रतियोगिताका विजेताले लगाउने ताज सार्वजनिक गरेका थिए। गायक आनन्द कार्कीले आफ्ना चर्चित गीत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए भने हास्य कलाकार जितु नेपालले समसामयिक विषयमा व्यङ्ग्यात्मक प्रस्तुति दिँदै दर्शकलाई हँसाएका थिए।
प्रतियोगिताको तयारी तथा प्रवर्द्धनात्मक गतिविधिअन्तर्गत आयोजित ‘द ग्ल्याम नाइट’ प्रतियोगीहरूलाई आफ्नो प्रतिभा, शैली र प्रस्तुति क्षमता देखाउने अवसर बनेको आयोजकको भनाइ छ। यसले विवाहित महिलाहरूको आत्मविश्वास, पहिचान र व्यक्तित्व विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
रिबन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको ‘मिसेस नेपाल वर्ल्ड’ विवाहित महिलाहरूको प्रतिभा प्रदर्शन, व्यक्तित्व विकास तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्ने सौन्दर्य प्रतियोगिता हो।
यस वर्षको अन्तिम प्रतिस्पर्धामा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन प्रतिस्पर्धा गर्दैछन्।
‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६’को ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजना हुनेछ। प्रतियोगिताकी विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।
अश्विनी झाको कोरियोग्राफीमा आयोजना हुने प्रतियोगिताकै मञ्चबाट ‘मिसेस नेपाल इन्टरनेसनल’, ‘एमएस इन्टरनेसनल’ र ‘मिसेस कोस्मो’का विजेतासमेत चयन गरिने आयोजकले जनाएका छन्। यी उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।
