काठमाडौं । पल शाह, मलिका महत र विपना थापा अभिनीत फिल्म ‘आ बाट आमा २’को ट्रेलरले सार्वजनिक भएको १३ घण्टामै दर्शकको उल्लेखनीय साथ पाएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमा रिलिज भएको ट्रेलर ट्रेन्डिङको तेस्रो स्थानमा पुग्दा १६ लाखभन्दा बढी भ्युज प्राप्त भएको छ। ट्रेलरमा २२ हजार लाइक र २ हजार ५०० भन्दा बढी कमेन्ट छन्।
आमाछोराको भावनात्मक सम्बन्ध र पारिवारिक प्रेममा आधारित ट्रेलरमा पल शाहको अभिनयले दर्शकको मन छोएको छ। विशेषगरी गाडीले किच्न खोजेको कुकुरको बच्चालाई उनले बचाएको दृश्यले दर्शकको ध्यान खिचेको छ। आफ्नो बच्चा बचाउन भुकेको कुकुरको आवाज नसुनिएपछि कृष्णले बच्चालाई बचाउने दृश्यलाई दर्शकले भावनात्मक रूपमा लिएका छन्।
ट्रेलरमा आमाको भूमिकामा रहेकी विपना थापा र साइग्रेस पोखरेलको अभिनयको प्रशंसा भइरहेको छ। आधाको भूमिकामा मलिका महत पनि प्रभावशाली देखिएकी छन्। पल शाह र मलिका महतको जोडीलाई दर्शकले रुचाएका छन्। आकाश श्रेष्ठको भूमिका खलनायकको हुन सक्ने संकेत ट्रेलरले गरेको छ भने गजित विष्ट ग्यारेज साहुको भूमिकामा प्रस्तुत भएका छन्।
आर्थिक अभावले थिचिएको परिवार, भगवान्सँग एक लाख रुपैयाँ माग्ने पात्र र आमाबुबा तथा सन्तानबीचको निःस्वार्थ प्रेमका दृश्यले फिल्मको भावनात्मक पक्षलाई बलियो बनाएको देखिन्छ। ट्रेलरमा प्रस्तुत यी दृश्यले फिल्मप्रति दर्शकको चासो बढाएको छ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायतको अभिनय छ।
रोशन भट्ट र चन्द्र पन्तले फिल्मको लेखनमा सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन्। नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा करण सिंह प्रोडक्सन एक्जिक्युटिभ छन्। ओएसआर डिजिटल डिजिटल पार्टनर र आरआर फिल्म्स नेपाल वितरक हुन्।
यसअघि आएको ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढी कमाएको थियो। त्यसैको सिक्वल ‘आ बाट आमा २’ शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा छ।