काठमाडौं। फिल्म ‘बाटुलो जून’को गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ युट्युबको नेपाल ट्रेन्डिङमा पहिलो नम्बरमा पुगेको छ। बडादसैँको घटस्थापनाका दिन सार्वजनिक गीतले दुई दिनमै पाँच लाखभन्दा बढी भ्युज प्राप्त गरेको निर्माण टिमले जनाएको छ।
गीतको भ्युज अर्गानिक रहेको दाबी गर्दै निर्माण टिमले यसअघि सार्वजनिक फिल्मको टिजरले पनि दर्शकको उल्लेख्य सहभागिता पाएको जनाएको छ। गीत भिडियो ट्रेन्डिङमा पहिलो स्थानमा रहँदा फिल्मको टिजर युट्युब मुभी चार्टको शीर्ष स्थानमा रहेको बताइएको छ।
गीतको भिडियोमा अनमोल केसी र डेब्यु अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। पुरानो नेपाली समाजको परिवेश समेटिएको भिडियोमा दुवै कलाकारको प्रस्तुतिले दर्शकको ध्यान खिचिरहेको छ।
कात्तिक २६ गते प्रदर्शनमा आउने फिल्मलाई सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका हुन्। जिया केसी र भविष्य खड्का निर्माता तथा विवेक थापा सहनिर्माता रहेको फिल्म सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको हो।