एक्सनप्रधान फिल्म ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक गरिएको छ। अभिनेता विराज भट्टको निर्देशनमा तयार फिल्मको ट्रेलर एक्सनले भरिपूर्ण छ।
ट्रेलरमा विराज भट्ट र उनका छोरा समीर भट्टका बहादुरीपूर्ण एक्सन दृश्य समेटिएका छन्। समीरको सिक्स प्याक शरीरसँगै खलपात्रको भूमिकामा देखिएका अभिनेता अनुपविक्रम शाहीको फरक अवतारले पनि ट्रेलरमा ध्यान खिच्छ।
एक्सनले भरिपूर्ण ट्रेलरले फिल्मप्रति दर्शकको कौतूहलता बढाउने विश्वास निर्माण टिमको छ। ट्रेलरमा समीर र विराजका एक्सन दृश्यलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ।
फिल्ममा विराज, समीर र अनुपविक्रमसँगै प्रकाश शाह, खुशी कार्की, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा राज्यलक्ष्मी शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरी र अर्जुन आचार्यलगायत कलाकारको अभिनय रहेको छ। वर्षा इटानी र काफिया शाही ‘कृशु’ले यसै फिल्मबाट डेब्यू गर्दैछन्।
सरस्वती भट्ट निर्माता रहेको फिल्ममा बन्दे प्रसादको सम्पादन, सन्तोष सरकारको लेखन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन छ। महेश पौडेल डीओपी रहेको फिल्ममा राम केसी र राजु लामाले क्यामेराको जिम्मेवारी सम्हालेका छन्। गोविन्द शाहीको काफिया फिल्म्सले फिल्मको प्रदर्शन तथा वितरण अधिकार लिएको छ।