प्रेमवार्तामा दयाहाङलाई प्रश्न : प्रेम महँगो हुँदै गएको हो?, के  प्रेम गरेपछि स्वतन्त्रता सकिन्छ?

0 Shares

‘कबड्डी’ का ‘काजी’ पटकपटक प्रेममा असफल भए। तर यसलाई पर्दामा सजिब उतार्ने काम गरेका अर्थात् दयाहाङ राई भने वास्तविक जीवनमा प्रेमलाई  अधिकारभन्दा बढी सम्मानका रूपमा बुझ्छन्। प्रेम, बिछोड, पुरुष मनोविज्ञान, सामाजिक बन्धन र वैवाहिक जीवनबारे दयाको बुझाइ पर्दाको काजीभन्दा निकै फरक छ।

प्रेममा असफल हुनु र प्रेमलाई बुझ्नु एउटै कुरा होइन। कसैका लागि प्रेम पाउनु सफलता हुन सक्छ, कसैका लागि गुमाउनु पीडा। तर, अभिनेता दयाहाङ राईका लागि प्रेमको अर्थ यी दुवैभन्दा अलि फराकिलो छ—एकअर्कालाई सम्मान गर्नु।

यतिबेला नेपाली बक्स अफिसमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को चर्चा छ। निर्माण पक्षका अनुसार फिल्मले प्रदर्शनको तीन दिनमा व्यापारका सुखद् अंकहरु जोडीरहेको छ। फिल्मको केन्द्रमा फेरि पनि काजी छ—त्यही काजी, जो पटकपटक प्रेममा पर्छ, विवाह गर्ने सपना देख्छ र हरेकपटक आफ्नो चाहनाअनुसार जीवन अघि बढाउन सक्दैन।

‘लुट’ मा गोफ्ले बनेर दर्शकमाझ परिचित भएका दयाहाङलाई लोकप्रियताको अर्को उचाइमा पुर्‍याउने काम ‘कबड्डी’ शृंखलाले गर्‍यो। गोफ्लेको परिचयबाट अघि बढेका दयाको नामसँग अहिले काजी पनि उत्तिकै जोडिएको छ। अभिनयका लागि निरन्तर प्रशंसा पाइरहेका र व्यस्त कलाकारका रूपमा स्थापित दयाको करिअरमा ‘कबड्डी’ शृंखलाको भूमिका महत्त्वपूर्ण छ।

तर, पर्दाको काजीलाई प्रेममा बारम्बार असफल बनाउने दयाहाङ वास्तविक जीवनमा प्रेमलाई कसरी हेर्छन्? प्रेममा पुरुष किन कमजोर देखिन्छन्? बिछोडिएका प्रेमकथा किन बढी लोकप्रिय हुन्छन्? समाज प्रेमको बाधक किन बन्छ? अनि प्रेममा कसैलाई चाहनु र उसमाथि अधिकार जमाउनुबीचको सीमा कहाँ छ?

यी जिज्ञासाहरुको जवाफमा दयाले किशोरावस्थाको अव्यक्त आकर्षणदेखि विवाहपछिको जिम्मेवारीसम्म, पुरुष मनोविज्ञानदेखि सामाजिक संरचनासम्म र काजीको असफल प्रेमदेखि जीवनको वास्तविकतासम्मका अनेक पाटा खुलाएका छन्।

प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ?

दयाहाङ राई: प्रेम भनेको एकअर्काप्रतिको सम्मान हो। एकअर्काबाट ऊर्जा प्राप्त गर्नु, आकर्षित हुनु र त्यो आकर्षणलाई महसुस गर्नु पनि प्रेम हो। प्रेमलाई महिला र पुरुषबीचको सम्बन्धमा मात्रै सीमित गरेर हेर्नु हुँदैन। प्रेमका अनेक रूप हुन्छन्।

 तपाईंले पहिलोपटक प्रेमको अनुभूति कहिले गर्नुभयो?

दयाहाङ राई: एसएलसी दिएपछि प्रेमजस्तो अनुभूति भएको थियो। एकअर्काप्रति आकर्षण थियो, तर खुलेर व्यक्त गर्न सकिएन। दुवैको मनमा केही थियो कि जस्तो लाग्थ्यो, तर स्पष्ट कुरा भएन। अन्ततः त्यो सम्बन्ध अन्योलमै सकियो। त्यसमा ठूलो नाटकीय बिछोड थिएन, बरु कुरा नबुझ्दानबुझ्दै छुटेको अवस्था थियो।

 प्रेममा पुरुषले कस्तो महिला खोज्छन्—प्रेमिका कि आफूलाई सम्हाल्ने साथी?

दयाहाङ राई: उमेर बढ्दै जाँदा पुरुषले आफूलाई सम्हाल्ने महिला खोज्ने सोच विकास हुन सक्छ। मैले आफ्नै परिवारमा आमाले घरपरिवार सम्हालेको देखेँ। त्यसले पनि पुरुषको सोचमा प्रभाव पार्छ होला। तर सम्बन्धमा महिलाले मात्रै पुरुषलाई सम्हाल्नुपर्छ भन्ने होइन। दुवैले एकअर्कालाई बुझ्ने र साथ दिने कुरा महत्त्वपूर्ण हुन्छ।

 प्रेम गरेपछि स्वतन्त्रता सकिन्छ?

दयाहाङ राई: प्रेममा परेपछि आफ्नो इच्छाअनुसार मात्रै चल्न सकिँदैन। अर्को व्यक्तिको भावना, उसको परिवार र सामाजिक सम्बन्धलाई पनि ध्यान दिनुपर्छ। कतिपय अवस्थामा आफ्नो इच्छालाई सीमित गर्नुपर्ने हुन्छ। त्यसैले प्रेममा पूर्ण स्वतन्त्रता रहँदैन भन्न सकिन्छ। तर त्यो स्वतन्त्रता गुमाउनु मात्रै होइन, अर्को व्यक्तिप्रति जिम्मेवार बन्नु पनि हो।

 बिछोडको कथा किन यति धेरै हृदयस्पर्शी हुन्छ?

दयाहाङ राई: दुःखद प्रेमकथाले मानिसलाई ‘यस्तो भएको भए के हुन्थ्यो होला?’ भनेर सोच्न बाध्य बनाउँछ। प्रेममा गरिएका त्याग, धोका र अधुरा चाहनाले मानिसलाई लामो समयसम्म प्रभाव पार्छन्। सफल प्रेमको आफ्नै खुसी हुन्छ, तर असफल प्रेममा कल्पना गर्ने ठाउँ धेरै हुन्छ। सायद त्यसैले बिछोडका कथा मानिसको मनमा लामो समयसम्म रहन्छन्।

 प्रेमको भिलेन समाज हो कि सामाजिक सोच?

दयाहाङ राई: कतिपय अवस्थामा समाज र सामाजिक सोच दुवै प्रेमका बाधक बन्न सक्छन्। हाम्रो समाजले मानिसलाई उसको हैसियत र सामाजिक अवस्थाका आधारमा हेर्ने गर्छ। विशेषगरी आत्मविश्वासी महिलालाई पनि समाजले फरक दृष्टिले मूल्याङ्कन गर्न सक्छ। प्रेम दुई व्यक्तिबीचको कुरा भए पनि उनीहरूको सम्बन्धमा परिवार, समाज र सामाजिक संरचनाले प्रभाव पार्छन्।

 प्रेममा महिला र पुरुषको छनोट गर्ने तरिका फरक हुन्छ?

दयाहाङ राई: हाम्रो दक्षिण एसियाली समाजमा पुरुषले धेरै ठाउँमा आफ्नो इच्छा व्यक्त गर्न पाउँछन्, तर महिलालाई त्यही स्वतन्त्रता सहजै दिइँदैन। महिलाले कसलाई रोज्ने, कसलाई अस्वीकार गर्ने भन्ने कुरामा पनि सामाजिक दबाब हुन्छ। यस्तो संरचनामा महिलाको ‘हुन्छ’ वा ‘हुँदैन’ भन्ने निर्णयलाई विद्रोहका रूपमा समेत हेरिन सक्छ। यो समाजमा हुर्किएका मानिसको सोच र व्यवहारसँग जोडिएको विषय हो।

 एकतर्फी प्रेम भावना हो कि आफैँलाई दिएको पीडा?

दयाहाङ राई: एकतर्फी प्रेममा आफ्नो भावना हुनु स्वाभाविक हो। तर अर्को व्यक्तिलाई आफ्नो भावनाबारे थाहा नै छैन वा उसले स्पष्ट रूपमा अस्वीकार गरिसकेको छ भने त्यसलाई जबर्जस्ती अगाडि बढाउनु उचित हुँदैन। प्रेममा आफ्नो भावना जति महत्त्वपूर्ण हुन्छ, अर्को व्यक्तिको इच्छा र निर्णय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। कसैले अस्वीकार गरेपछि त्यसलाई सम्मान गर्न सक्नुपर्छ।

पहिले प्रेमको प्रतीकका रूपमा रुमाल, टोपीजस्ता सामान्य वस्तु दिइन्थ्यो। अहिले प्रेम महँगो हुँदै गएको हो?

दयाहाङ राई: पहिले सानो वस्तुको पनि आफ्नै महत्त्व हुन्थ्यो। रुमाल वा टोपी दिँदा त्यसमा आत्मीयता जोडिएको हुन्थ्यो। अहिले समाज धेरै भौतिकवादी बन्दै गएको छ। सम्बन्धमा पनि सुविधा, सम्पत्ति र जीवनशैलीले महत्त्व पाउन थालेका छन्। त्यसैले प्रेम व्यक्त गर्ने तरिका पनि समयसँगै बदलिएको छ।

 ‘कबड्डी’को काजीले सोल्टिनीलाई आफ्नो अधिकार ठान्छ। के प्रेममा यस्तो अधिकारभाव स्वाभाविक हो?

दयाहाङ राई: काजीको चरित्रमा सुरुमा सोल्टिनीमाथि आफ्नो अधिकार रहेको ठान्ने प्रवृत्ति देखिन्छ। तर समयसँगै उसले सोल्टिनीको आफ्नै निर्णय र चाहना छन् भन्ने कुरा बुझ्न थाल्छ। काजीको जीवनमा उमेर बढ्दै गएको चिन्ता, रोजगारी र जीविकोपार्जनको प्रश्न पनि जोडिन्छ। त्यसैले उसको प्रेम केवल प्रेममा सीमित रहँदैन; जीवनका व्यावहारिक पक्षसँग पनि ठोक्किन्छ।

 तपाईंलाई सबैभन्दा मन पर्ने प्रेम पात्र कुन हो?

दयाहाङ राई: मेरो त्यस्तो एउटै मनपर्ने प्रेम पात्र छैन। स्कुल पढ्दा, आठ–नौ कक्षामा हुँदा प्रकाश कोविदका प्रेम उपन्यासहरू पढेको सम्झना छ। त्यतिबेला ती कथाहरूले पनि प्रभाव पारेका थिए। तर प्रेमलाई बुझ्ने दृष्टिकोण उमेर र अनुभवसँगै बदलिँदै जान्छ।

विवाहअघि र विवाहपछि प्रेममा के फरक पाउनुभयो?

दयाहाङ राई: विवाहअघि मनमा डर र अन्योल धेरै हुन्छ। विवाहपछि भने खुसीसँगै जिम्मेवारी पनि थपिन्छ। जीवनलाई कसरी अगाडि बढाउने, परिवारका लागि के गर्ने र भविष्यलाई कसरी व्यवस्थित बनाउने भन्ने विषय महत्त्वपूर्ण हुन्छन्। कलाकारको जीवनमा कामको असुरक्षा पनि हुन्छ, जसले चिन्ता थप्न सक्छ। तर जीवनमा असन्तुष्ट भएर एउटै ठाउँमा अड्किरहनुभन्दा अगाडि बढिरहनु राम्रो हो।

 अभिनयमा सफल नभएको भए तपाईं के गरिरहनुभएको हुन्थ्यो?

दयाहाङ राई: अभिनयमा काम नपाएको भए पनि फिल्मकै क्षेत्रमा निर्देशन, लेखन वा निर्माणतिर काम गर्थें होला। मलाई कला क्षेत्रमा काम गर्न मन थियो। त्यसैले अभिनय मात्रै मेरो विकल्प थिएन।

 मण्डला थिएटर स्थापना गर्नुको उद्देश्य के थियो?

दयाहाङ राई: आफूले सिकेका र अनुभव गरेका कुरा अरूसँग बाँड्न सकियोस् भन्ने उद्देश्य पनि थियो। नयाँ पुस्ताका मानिसहरूलाई काम गर्न र आफ्नो क्षमता विकास गर्न प्रेरित गर्न सकियोस् भन्ने चाहना थियो। मेरो लागि कला समय कटाउने वा फुर्सदमा गर्ने काम होइन। यो जीवनसँग जोडिएको काम हो।

तपाईंलाई भावुक बनाउने गीतहरू कुन–कुन हुन्?

दयाहाङ राई: ‘बाटो हेरे हुन्छ आमा, म त आउँदै छु’ भन्ने गीतले मलाई भावुक बनाउँछ। यसका शब्द श्रवण मुकारुङका हुन्, शम्भु राईले गाउनुभएको हो र संगीत शान्तिराम राईको हो। सुरेश कुमारका गीतहरू पनि मलाई मन पर्छन्। गीतमा व्यक्त भएका भावना र त्यसले सम्झाउने जीवनका क्षणले मन छुन्छन्।

 ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले दर्शकलाई के भन्न खोजेको छ?

दयाहाङ राई: यो प्रेमसँगै जिम्मेवारी र कर्तव्यको कुरा पनि हो। जीवनमा कहिलेकाहीँ आफूले चाहेको कुरा मात्रै पर्याप्त हुँदैन। आफ्नो व्यवहार, निर्णय र जिम्मेवारीबारे महसुस गर्नुपर्छ। प्रेमलाई बुझ्नु भनेको अर्को व्यक्तिलाई आफ्नो बनाउन खोज्नु मात्रै होइन, उसको चाहना र निर्णयलाई पनि बुझ्नु हो।

 काजीको चरित्रसँग तपाईंको सम्बन्ध कस्तो छ?

दयाहाङ राई: लामो समयसम्म एउटै चरित्रसँग काम गर्दा त्यससँग आत्मीयता बढ्दै जान्छ। ‘कबड्डी’को काजीलाई पनि मैले धेरै समयदेखि बाँचिरहेको छु। अहिले ऊ फिल्मको पात्र मात्रै नभएर आफ्नै नजिकको साथीझैँ लाग्न थालेको छ। त्यसैले काजीको जीवन र उसको यात्राप्रति स्वाभाविक रूपमा लगाव छ।

 

सम्बन्धित समाचार

सबै