कात्तिक १३ देखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिभल २०८३ हुँदै, शबाना आजमी आउने

0 Shares

काठमाडौं महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ आयोजना गर्ने भएको छ। महोत्सवमा भारतीय अभिनेत्री शबाना आजमी विशेष अतिथिका रूपमा सहभागी हुनेछिन्। महोत्सवमा १० देशका ४० भन्दा बढी फिल्म प्रदर्शन गरिनेछन्।

महोत्सवमा अन्तर्राष्ट्रिय फिल्मकर्मीसँग संवाद, रेड कार्पेट, अग्रज कलाकारको सम्मान र नयाँ प्रतिभालाई नगद पुरस्कार प्रदान गर्नेलगायत कार्यक्रम हुनेछन्।

महोत्सवकी प्रमुख आकर्षण आजमीले कात्तिक १४ गते नेपाल पर्यटन बोर्डमा ‘फिल्म, महोत्सव र सार्थक जीवन’ विषयमा विशेष अन्तरसंवाद गर्नेछिन्। कार्यक्रममा सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हासहित अन्तर्राष्ट्रिय फिल्मकर्मी सहभागी हुनेछन्।

मुलरले कात्तिक १५ गते फिल्म सौन्दर्यशास्त्र र अन्तर्राष्ट्रिय फिल्म महोत्सवबारे मास्टरक्लास सञ्चालन गर्नेछन्।

ऐतिहासिक वसन्तपुरबाट सांस्कृतिक प्रस्तुति र सम्पदा पदयात्रासहित सुरु हुने महोत्सवका कार्यक्रम राष्ट्रिय सभागृह, जय नेपाल सिनेमाघर, नेपाल पर्यटन बोर्ड र तारागाउँलगायत स्थानमा सञ्चालन हुनेछन्। नेपाली फिल्म क्षेत्रका पुराना र नयाँ पुस्ताका कलाकारलाई एउटै मञ्चमा ल्याएर उनीहरूको योगदानको सम्मानसमेत गरिनेछ।

महोत्सवमा नेपाली फिल्म इतिहासका महत्त्वपूर्ण कृति ‘कुमारी’ र ‘के घर के डेरा’ विशेष रूपमा प्रदर्शन गरिनेछन्। प्रारम्भिक प्रदर्शन सूचीमा ‘सिन्दूर’ पनि छ। अन्तर्राष्ट्रियतर्फ विश्वप्रसिद्ध ‘द गडफादर’, भारतीय फिल्म ‘बयान’, चिनियाँ फिल्म ‘डियर यु’ र कोरियाली फिल्म ‘द किङ्स वार्डेन’लगायत प्रदर्शन गरिनेछन्। महोत्सवको समापनमा अन्तर्राष्ट्रिय सहकार्यमा बनेको ‘प्राइभेट प्रपर्टी’ देखाइनेछ।

नयाँ फिल्मकर्मीका लागि पनि महोत्सव अवसर बन्नेछ। ‘नेपाल पानोरमा सर्ट्स’ विधामा प्राप्त ७५ फिल्ममध्ये छनोट भएका १० फिल्मलाई जनही एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिइनेछ। त्यस्तै, ‘माई कल्चर, माई हेरिटेज’ शीर्षकको युवा भिडियो प्रतियोगिताका उत्कृष्ट तीन सर्जकले क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ पाउनेछन्। दुवै प्रतियोगिताका लागि कुल १३ लाख रुपैयाँ पुरस्कार छुट्याइएको छ। छनोट भएका फिल्मको प्रदर्शन र पुरस्कार वितरण कात्तिक १५ गते राष्ट्रिय सभागृहमा हुनेछ।

महोत्सवका सबै फिल्म निःशुल्क हेर्न पाइनेछ। तर सिट सुरक्षित गर्न दर्शकले निःशुल्क टिकट लिनुपर्नेछ।

सन् २०२३ मा युनेस्कोबाट ‘क्रिएटिभ सिटी अफ फिल्म’को मान्यता पाएको काठमाडौंले महोत्सवमार्फत आफ्नो कला, संस्कृति, सम्पदा र ओझेलमा परेका मौलिक कथालाई विश्वसामु पुर्‍याउने लक्ष्य राखेको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार सांस्कृतिक सम्पदाको अभिलेखीकरण र नयाँ पुस्ताका सर्जकलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्नु महोत्सवका प्रमुख उद्देश्य हुन्।

सम्बन्धित समाचार

सबै