काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘लालीबजार’को गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। मार्च १३, २०२६ मा सार्वजनिक गीतले सात महिनामै यो आँकडा पार गरेको हो।
गीतको सफलतापछि स्वस्तिमाले सामाजिक सञ्जालमा खुसी साटेकी छन्। आफ्ना फिल्म नपुगेका ठाउँमा गीतले आफूलाई चिनाएको उल्लेख गर्दै उनले आफ्नो करियरमा गीतहरूको भूमिका ठूलो रहेको बताएकी छन्।
खेम सेन्चुरी र दीपिका बयम्बु मगरले गाएको गीतमा रमेश बीजीको शब्द र खेम सेन्चुरीको संगीत छ। प्रदीप लामाको कोरियोग्राफी रहेको भिडियोमा स्वस्तिमा र समाइरा थापालगायत कलाकार छन्। गीतले युट्युबबाहेक टिकटक र इन्स्टाग्राम रिल्समा समेत दर्शकको ध्यान खिचेको छ।
यम थापा निर्देशित ‘लालीबजार’ले नेपालमा प्रदर्शनको ५१ दिन पूरा गरेको थियो। आमा र छोरीको कथामार्फत शिक्षाको महत्त्व प्रस्तुत गरिएको फिल्म दसैँमा डिगो ओटीटी प्लेटफर्ममा रिलिज भएको हो। फिल्मले विदेशमा रहेका नेपाली दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
षट्कोण आर्ट्सको ब्यानरमा बनेको फिल्ममा स्वस्तिमासहित रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराललगायत कलाकार छन्। फिल्मका निर्माता म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ हुन् भने कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन्।