काठमाडौं । फिल्म ‘पाँच पाण्डव’को गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ‘राजा चाहिया छ’ बोलको गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर छ ।
शशी शर्मा मजगैयाँको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । गीतले घरजमका लागि आफूलाई एक उपयुक्त युवक चाहिएको युवतीको चाहना प्रस्तुत गर्छ ।
क्यासिनोमा नाच्ने एक हट एन्ड ब्युटी युवतीले आफूलाई असल युवक चाहिएको बताउने प्रसंगलाई गीतको भिडियोमा देखाइएको छ ।
गीतको भिडियोमा इभा गिरीको नृत्य छ । उनको बोल्ड नृत्यमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपानेले साथ दिएका छन् ।
यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि अभिनय छ ।
फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन् ।
‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । लेखक पौडेलका अनुसार यो फिल्म सोसल ड्रामा विधामा आधारित छ । महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै फिल्मले समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।
श्याम तामाङले खिचेको फिल्ममा सुप्रिम पराजुलीको सम्पादन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ । गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन् ।
निर्देशक बसन्त निरौलाका अनुसार फिल्ममा दर्शकले डल्बी एटमस साउन्डको अनुभव लिन पाउनेछन् ।
फिल्मको रङ्ग सम्पादन, संगीत अर्जुन पोखरेल, साउन्ड डिजाइन उत्तम न्यौपाने, ब्याकग्राउन्ड म्युजिक (बीजीएम) सुजिल कर्माचार्य र भिएफएक्स पुकार धिमालको रहेको छ । रोहित राज गौतम एचओपी र विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर छन् ।
फिल्म ‘पाँच पाण्डव’ तिहारको अवसर पारेर कात्तिक २० गते (नोभेम्बर ६) देखि प्रदर्शनमा आउँदैछ । फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल छ भने रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ ।