काठमाडौं । हरिवंश आचार्य नयाँ फिल्ममा ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिने भएका छन् । दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित फिल्म ‘चिरञ्जीवी भवः’को दुईवटा पोस्टर सार्वजनिक भएसँगै उनको चरित्रबारे झलक मिलेको छ ।
निर्माण टिमले शनिबार सार्वजनिक गरेका पोस्टरमा हरिवंशसँगै आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीलाई प्रस्तुत गरिएको छ ।
एउटा पोस्टरमा हरिवंश गम्भीर मुद्रामा छन् भने आशीर्वाद र प्रशंसा मुस्कुराइरहेका छन् । क्याजुअल पहिरनमा रहेका आशीर्वाद र बुट्टे चोली तथा सारीमा सजिएकी प्रशंसाको हँसिलो अनुहारले पोस्टरलाई जीवन्त बनाएको छ । अर्कोतर्फ, सेतै फुलेको कपाल र जुँगा, ढाका टोपी तथा सुकिलो पहिरनमा देखिएका हरिवंश खानदानी घरमूलीको झल्को दिन्छन् ।
दोस्रो पोस्टरमा हरिवंशले आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य छ । दौरा-सुरुवाल र इस्टकोटमा सजिएका हरिवंश तथा क्याजुअल पहिरनमा रहेका आशीर्वादको प्रस्तुतिले उनीहरूबीचको सम्बन्धबारे कौतूहल जगाउँछ । पोस्टर हेर्दा उनीहरू बुवा र छोराको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । हरिवंशले आशीर्वाद दिँदै ‘चिरञ्जीवी भवः’ भनिरहेको दृश्यले फिल्मको नामलाई समेत अर्थपूर्ण बनाएको छ ।
फिल्ममा हरिवंश ‘चिरञ्जीवी बाजे’को भूमिकामा छन् । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्म माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । अहिले फिल्म पोस्ट प्रोडक्सनमा छ ।
‘परान’बाट ब्लकबस्टर सफलता पाएका निर्देशक दीपकप्रसाद आचार्यको यो दोस्रो निर्देशन हो । गत वर्ष प्रदर्शनमा आएको ‘परान’ वर्षकै सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली फिल्म बनेको थियो । त्यसैले पनि उनको नयाँ फिल्मप्रति दर्शकको चासो बढेको छ ।
फिल्मको कथा कुमार कट्टेल ‘जिग्री ब्रो’ले तयार पारेका हुन् । कुमारको कथामा दीपकले निर्देशन गरेका छन् । कथालाई सविन अधिकारी र वसन्त न्यौपानेले पटकथामा ढालेका छन् ।
सोसल ड्रामा विधामा निर्माण भएको ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक दूरी, मतभेद र सम्बन्धको कथा भन्नेछ ।
फिल्ममा हरिवंश, आशीर्वाद र प्रशंसासँगै करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी र सुस्मिता कुँवरलगायत कलाकार छन् ।
उमेशकुमार बराल र चिरन केसी निर्माता तथा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक दीपक आचार्यले पनि गीत लेखेका छन् । गीत लेखनमा हर्क साउदको सहकार्य छ भने रञ्जित गजमेरको गीतसमेत फिल्ममा रहनेछ ।
शिवराम श्रेष्ठको छायांकन, मित्र डी. गुरुङको सम्पादन तथा बाबु गिरी, सुशान्त गौतम, निरञ्जन थापा र समीर खरेलको संगीत रहेको फिल्ममा गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन् ।
फिल्मको प्राविधिक टिममा प्रमुख सहायक निर्देशक रामबाबु खड्का, सहायक निर्देशक सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल, प्रोजेक्ट म्यानेजर सुवास राज काफ्ले तथा प्रोडक्सन डिजाइनर विशाल न्यौपाने छन् । मेकअपमा विक्रम गौतम, स्टिल तथा बीटीएसमा सन्तोष क्षेत्री, प्रोडक्सनमा विष्णुप्रसाद मैनाली र अनिश लामिछाने तथा पब्लिसिटी डिजाइनमा टाउवा स्टुडियो (विजय बस्याल) छन् ।
‘चिरञ्जीवी भवः’ माघ १ गते (जनवरी १५) देखि देशव्यापी प्रदर्शनमा आउनेछ । ओएसआर डिजिटल यसको डिजिटल पार्टनर हो भने आरआर फिल्म्सले वितरणको जिम्मेवारी लिएको छ ।