‘पाँच पाण्डव’मा दीपाश्रीको एक्सन अवतार, चरित्रको नाम ‘सितर्नी’

0 Shares

काठमाडौं । अभिनेत्री दीपाश्री निरौला फिल्म ‘पाँच पाण्डव’मा एक्सन अवतारमा देखिने भएकी छन् । भीमकी श्रीमतीको भूमिका निर्वाह गरेकी उनले आफूलाई फिल्ममा अन्यायविरुद्ध लड्ने ‘फाइटर लेडी’का रूपमा प्रस्तुत गरेकी छन् ।

बसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा जितु नेपाल भीमको भूमिकामा छन् । दीपाश्रीले भने अहिलेसम्म निर्वाह गरेका भूमिकाभन्दा फरक चरित्रमा अभिनय गरेकी छन् ।

“यसपटक मेरो चरित्र अलिक फरक छ । यो अलिकति फाइटर टाइपको भूमिका हो,” उनी भन्छिन्, “मजदुरमाथि कसैले अन्याय गर्‍यो भने सबैभन्दा पहिले मेरा हातखुट्टा चल्छन् ।”

आफ्नो प्रवेश हुने दृश्यले दर्शकबाट सिठी, ताली र हुटिङ पाउने उनको अपेक्षा छ । डबिङ गर्दाकै अनुभवले पनि आफूलाई त्यस्तो लागेको उनले बताइन् ।

“मेरो प्रवेश हुने दृश्यहरू निकै धमाकेदार छन् । ती दृश्यमा एकदमै जुझारु नारीको उपस्थिति महसुस हुन्छ । श्रीमान्लाई पनि सुरक्षा दिने र उनको पक्षमा उभिने भूमिका छ,” उनी भन्छिन् ।

फिल्ममा दीपाश्रीको चरित्रको नाम ‘सितर्नी’ हो । यो नाम पनि दर्शकमाझ चर्चित हुने उनको विश्वास छ ।

“फिल्ममा अरूलाई गाली गर्दा पनि म ‘सितर्नी’ भनेर गाली गर्छु । मलाई लाग्छ, यो शब्द दर्शकको मुखमा झुण्डिनेछ,” उनले भनिन् ।

कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने फिल्ममा दीपाश्रीसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरी मुख्य भूमिकामा छन् । सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लगायत कलाकारको पनि अभिनय छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठ हुन् । नवीनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको फिल्म सोसल ड्रामा विधामा बनेको हो । महाभारतका पाँच पाण्डवका चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने लेखक पौडेलले बताएका छन् ।

श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको फिल्ममा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ ।

अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बीजीएम र पुकार धिमालको भिएफएक्स रहेको फिल्ममा डल्बी एटमस साउन्ड पनि समावेश गरिएको छ ।

ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको फिल्मलाई आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ ।

सम्बन्धित समाचार

सबै