काठमाडौं । अभिनेता सुशील श्रेष्ठ फिल्म ‘एक्का तीन’मा जोडिएका छन् । मंसिरको पहिलो साताबाट छायांकन सुरु गर्ने तयारीमा रहेको फिल्मका लागि सुशील र निर्माण टिमबीच सम्झौता भएको हो ।
हाल ‘साम्राज्य’को छायांकनमा व्यस्त सुशीलले त्यसपछि ‘एक्का तीन’लाई समय दिनेछन् । एक्सन भूमिकामा परिचित सुशीलको प्रवेशले फिल्मको लाइनअप थप आकर्षक बनेको छ ।
फिल्ममा यसअघि नै पूजा शर्मा र कविता नेपाली अनुबन्धित भइसकेका छन् । निर्देशक रुपेश तामाङले यी तीन कलाकारलाई एउटै फिल्ममा प्रस्तुत गर्ने तयारी गरेका छन् । सुशील, पूजा र कविता तीनै जना एक्सन भूमिकामा देखिँदै आएका कलाकार भएकाले फिल्ममा एक्सनको मात्रा दमदार हुने अपेक्षा गर्न सकिन्छ ।
सुमन गजमेरको कथामा बन्न लागेको फिल्मलाई जुना फिल्म्सले निर्माण गर्दैछ ।
यद्यपि, सुशीलको जोडीका रूपमा पूजा शर्मा वा कविता नेपालीमध्ये कसलाई प्रस्तुत गरिने हो भन्ने खुलाइएको छैन । तीन कलाकारको सहकार्य र सुशीलको जोडीलाई लिएर अहिले फिल्मप्रति चासो बढेको छ ।