काठमाडौं। अन्याय, हिंसा र सामाजिक विकृतिविरुद्ध पाँच भाइले गर्ने संघर्षलाई केन्द्रमा राख्दै फिल्म ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो।
दोस्रो ट्रेलरमा अभिनेता हरिवंश आचार्य मुख्य रूपमा देखिएका छन्। पृथ्वीमा दुःख र समस्यामा परेका आफ्ना भाइहरूलाई उद्धार गर्न पृथ्वीलोक आएका युधिष्ठिरको भूमिकामा हरिवंश प्रस्तुत छन्।
ट्रेलरमा उनले भीम, अर्जुन र सहदेव भन्दै पात्रहरूलाई आफ्ना भाइका रूपमा चिनाउँछन्। त्यसपछि अन्यायमा परेका र समस्यासँग जुधिरहेका पात्रहरूलाई सहयोग गर्दै अघि बढ्छन्। उनी अन्याय र सामाजिक विकृतिविरुद्ध आवाज उठाउने पात्रका रूपमा देखिएका छन्।
क्यासिनोमा छोटा कपडा लगाएकी युवतीको शरीर ढाकिदिने दृश्यले पनि हरिवंशको पात्रले कल्पना गरेको सभ्य समाजको अवधारणालाई प्रस्तुत गर्छ। ट्रेलरले पाँच भाइको एकता, संघर्ष र विद्रोहलाई फिल्मको मुख्य कथ्यका रूपमा देखाएको छ।
बसन्त निरौलाको निर्देशनमा बनेको फिल्म यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी र दीपाश्री निरौलालगायत कलाकार छन्। सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)को पनि अभिनय छ।
काली रानी फिल्मस्को ब्यानरमा बनेको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ हुन्। कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन्। महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको लेखक पौडेलको भनाइ छ। उनले फिल्मलाई सोसल ड्रामा बताएका छन्।
श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको फिल्ममा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ। अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भिएफएक्स रहेको फिल्ममा डल्बी एटमस साउन्डको अनुभवसमेत लिन पाइने निर्माण टिमले जनाएको छ।
रोहित राज गौतम एचओपी र विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो। आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।