नेपाली फिल्ममा यार्सागुम्बा संकलन र त्यससँग जोडिएको लुटपाटको कथा कमै सुनिएको विषय हो। यही अपरिचित कथालाई पर्दामा उतार्दै निर्देशक धिरज राजवंशी डेब्यू फिल्म ‘हिमालयन गोल्ड’मार्फत दर्शकमाझ आउँदैछन्। फिल्म मंसिर ४ गतेदेखि प्रदर्शनमा आउनेछ।
अमेरिकाको लसएन्जल्समा फिल्म निर्देशन र निर्माण अध्ययन गरेका धिरज नेपाल फर्किएपछि नयाँ र मौलिक कथाको खोजीमा थिए। फिल्म ‘खुस्मा’मा चिफ एडीका रूपमा काम गर्ने क्रममा रुकुम पुगेपछि उनले आफ्नो फिल्मको विषय भेटे।
‘खुस्मा’को सुटिङपछि स्थानीयसँगको कुराकानीमा उनले रुकुममा राम्रो यार्सागुम्बा पाइने जानकारी पाए। त्यसपछि घोडा चढेर यार्सागुम्बा संकलन हुने ठाउँसम्म पुगे। त्यहाँ उनले यार्सागुम्बा टिप्न जाने मानिसमाथि हुने लुटपाट र त्यसले प्रभावित पारेको समुदायको जीवनबारे नजिकबाट बुझ्ने अवसर पाए।
डोल्पाका मानिस रुकुम आउने, मनाङसम्म पुग्ने तथा यार्सागुम्बा संकलनको सिजनमा विभिन्न समुदायको निर्भरता बुझ्दै जाँदा उनलाई यो विषयमा फिल्म बनाउन सकिने लाग्यो। तत्कालीन समयमा सरकारी सुरक्षाको अभावमा यार्सागुम्बा संकलकहरू लुटिने गरेको घटनाले उनलाई थप प्रभावित गर्यो।
‘त्यहाँ पुगेपछि यसमा कथा छ भन्ने लाग्यो। यो कथा अहिलेसम्म कसैले फिल्ममा भनेको पनि छैन,’ धिरजले भने।
फिल्मले सन् १९९० को दशकको समयलाई चित्रण गर्छ। रुकुम, डोल्पा, रोल्पा र मनाङका समुदाय यार्सागुम्बा संकलनको सिजनमा कसरी यसमा निर्भर हुन्थे र सुरक्षाको अभावमा कसरी लुटपाटमा पर्थे भन्ने विषय फिल्ममा समेटिएको छ।
यसको कथा तयार पार्न धिरजले एक वर्षभन्दा बढी समय खर्चिए। उनी सुटिङअघि पटकथा लेख्न चारपटक मुस्ताङ पुगेका थिए। सुरुमा डोल्पामा सुटिङ गर्ने योजना भए पनि भौगोलिक कठिनाइ, बाटोको असुविधा र उत्पादन खर्चका कारण मुस्ताङ रोजिएको उनले बताए।
‘४ हजार ८ सय मिटरभन्दा तल हामीले सुटिङ नै गरेनौं। लोमान्थाङमा व्यावसायिक रूपमा सुटिङ गरिएको फिल्म सम्भवतः हाम्रो पहिलो हो,’ उनले भने।
फिल्मको मुख्य पात्रमा परीक्षा लिम्बु छिन्। ‘ऊनको स्वीटर’मा उनको अभिनय हेरेपछि धिरज प्रभावित भएका थिए। निर्माण सुरु हुनुभन्दा छ महिना अगाडि नै उनलाई फिल्मको प्रारम्भिक स्क्रिप्ट दिएका धिरजले परीक्षा तयार भएपछि मुख्य भूमिकामा अनुबन्ध गरे।
फिल्ममा चारजना लुटेरा छन्। कर्मा शाक्यलाई पहिलो लुटेराको भूमिकामा छनोट गरिएको थियो। ‘पशुपति प्रसाद’मा अभिनय गरेका सजन थापा मगर अडिसनबाट छानिए। ग्याङको नेतृत्व गर्ने मुख्य खलनायकको भूमिकामा सुनिल थापा जोडिए।
धिरजले एभरेष्ट फिल्म एकेडेमीका चार–पाँच जना विद्यार्थीलाई फिल्ममा इन्टर्न गर्ने अवसरसमेत दिएका थिए। फिल्म अध्ययनपछि उद्योगमा प्रवेश गर्न कठिन हुने अनुभव आफूले लसएन्जल्समा अध्ययन गर्दा देखेको बताउँदै उनले विद्यार्थीलाई व्यावहारिक अनुभव दिलाउन यस्तो पहल गरेको बताए।
उच्च हिमाली क्षेत्रमा फिल्म खिच्नु अर्को चुनौती थियो। निर्माण टोलीले सुटिङअघि नै कलाकार र प्राविधिकलाई स्वास्थ्य सावधानी अपनाउन, वार्मअप गर्न र लसुन साथमा राख्न सुझाएको थियो। निर्माण व्यवस्थापकले हरेक रात सबैको अक्सिजनको स्तर जाँच गर्थे। यद्यपि, चिसोले भने टोलीलाई सबैभन्दा बढी दुःख दिएको धिरज बताउँछन्।
‘हिमालयन गोल्ड’लाई उनले व्यावसायिक फिल्मकै रूपमा परिभाषित गरेका छन्। तर कथावस्तु र विधाका हिसाबले यो नेपाली फिल्ममा देखिँदै आएको परम्परागत शैलीभन्दा फरक हुने उनको विश्वास छ।
फिल्ममा यार्सागुम्बा संकलन गर्ने मानिसलाई चारजना लुटेराले निरन्तर निशाना बनाइरहेका हुन्छन्। यही क्रममा परीक्षा लिम्बुले निर्वाह गरेको पात्रको परिवार पनि लुटेराको जालमा फस्छ। त्यसपछि सुरु हुने संघर्ष र प्रतिशोध फिल्मको मुख्य कथा हो।
मुस्ताङको लोमान्थाङभन्दा माथि रहेको टकमारमा समेत फिल्मको सुटिङ गरिएको थियो। तीन दिन त्यहाँ बसेका धिरज उक्त क्षेत्रको प्राकृतिक सुन्दरता र स्थानीयको संघर्षबाट प्रभावित छन्। पर्यटन बोर्डले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ध्यान दिनुपर्ने उनको सुझाव छ।
‘खुस्मा’को सुटिङका लागि रुकुम नगएको भए ‘हिमालयन गोल्ड’को कथा यति गहिराइमा नबन्ने धिरजको भनाइ छ। फिल्मका केही पात्र वास्तविक जीवनमा भेटेका मानिसबाट प्रेरित छन् भने कथाका घटना स्थानीयबाट सुनेका अनुभवमा आधारित छन्।
अ ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा सुनिल थापा, कर्मा शाक्य, मेनुका प्रधान, परीक्षा लिम्बु, राहुल एन. मुखिया, सजन थापा मगर, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी र ऋषिकेश बस्यालको अभिनय छ। दिग्गज अभिनेता सुनिल थापाले अभिनय गरेको यो अन्तिम फिल्म हो।
मीनबहादुर भाम निर्माता रहेको फिल्मको पटकथा दीपेन्द्र गौचन र धिरज राजवंशीले लेखेका हुन्। विशष्ठ प्रधानको छायांकन, निमेश श्रेष्ठको सम्पादन तथा सजल लोप्चन र करुण थापाको भिएफएक्स रहेको फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछ। भारतमा एए फिल्म्स र मध्यपूर्वमा फार्स फिल्म्स मोसन पिक्चर्सले वितरण गर्नेछन्।