विजयको छातीमा टाँसिएर रोइरहेकी अञ्जना, यस्तो छ ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक

0 Shares

काठमाडौं । विजय बराल र अञ्जना बराइलीलाई भावुक अवस्थामा प्रस्तुत गर्दै फिल्म ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा दुवै कलाकार रोइरहेको देखिन्छन्।

विजयको छातीमा टाँसिएकी अञ्जनाको बिग्रिएको कपाल र आँसुले कुनै अप्रिय घटनाको संकेत गर्छ। विजयका आँखामा पनि आँसु छन्। गाउँले परिवेश, मन्दिर र जात्रामा सहभागी मानिसको भीडले पोस्टरमा कथाको सामाजिक तथा सांस्कृतिक पृष्ठभूमि स्थापित गरेको छ।

बुलाकी, नौगेडी र माडवारीसहित परम्परागत पहिरनमा देखिएकी अञ्जना र सफा पहिरनमा रहेका विजयको प्रस्तुतिले गाउँले जनजीवनको झल्को दिन्छ। पोस्टर हेर्दा जात्रामा पुगेको यो जोडी कुनै गम्भीर समस्यामा परेको अनुमान गर्न सकिन्छ। शीर्षकअनुसारको कलर संयोजनले पनि फिल्मको भावनात्मक पक्षलाई संकेत गरेको छ।

सरोज पौडेल निर्देशित फिल्ममा विजय र अञ्जना मुख्य भूमिकामा छन्। ‘पूर्णबहादुरको सारङ्गी’मा दर्शकको मन जितेको यो जोडी पुनः एकसाथ देखिन लागेको हो। उनीहरूको यो दोस्रो सहकार्य हो।

फिल्ममा विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकार पनि छन्।

सबिन अधिकारी र वसन्त न्यौपानेले लेखेको फिल्मको कथा निर्देशक पौडेलकै हो। सारङ्गी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सहनिर्माता, सुमन रञ्जित एसोसिएट निर्माता तथा अनिश अधिकारी लाइन निर्माता छन्। दिनेश खड्का कार्यकारी निर्माता हुन्।

पदमबहादुर श्रेष्ठ (बाबु)ले छायांकन, सुरेन्द्र पौडेलले सम्पादन र विशाल घिमिरेले क्रिएटिभ निर्देशन गरेका छन्। फिल्ममा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ।

मंसिर १८ गते रिलिज हुने फिल्मलाई नेसनल सिने ग्रुप नेपालले वितरण गर्दैछ। बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनर हुन्।

सम्बन्धित समाचार

सबै