काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को गीत सार्वजनिक भएको छ । ‘बाँसैको सुप्लाखे’ बोलको गीतमा प्रशान्त शिवाकोटी र मेलिना राईको स्वर छ । सुरज गैरे विवशको शब्द रहेको गीतमा प्रशान्तकै संगीत छ ।
प्रेमिल जोडीको माया दर्शाउने गीतमा प्रेम, लाज, इसारा, विश्वास र आश्वासनका भाव समेटिएका छन् । प्रेममा रहेका युवा–युवतीले इसारैइसारामा मनका भावना पोखेको प्रसंग गीतमा छ ।
मनका कुरा सुटुक्क साट्दै जीवन एकअर्कालाई समर्पित गर्ने भाव गीतमा प्रस्तुत गरिएको छ । वयस्क प्रेमिल जोडीबीचको आकर्षण र मायाको भोक आँखाबाटै व्यक्त हुने सन्दर्भलाई गीतले उजागर गर्ने प्रयास गरेको छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल र अञ्जना बराइली छन् । उनीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । भिडियोमा विजय र अञ्जनाको नृत्य तथा जोडीको केमेस्ट्री सुहाएको देखिन्छ ।
सरोज पौडेलको निर्देशनमा बनेको ‘सिन्दुरे जात्रा’मा नेपाली फिल्म उद्योगको बक्सअफिसमा सफल जोडी विजय बराल र अञ्जना बराइली पुनः एकसाथ देखिँदैछन् । यो उनीहरूको दोस्रो सहकार्य हो । यसअघि उनीहरूले नेपाली फिल्म इतिहासकै सर्वाधिक सफल फिल्ममध्ये एक ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका थिए ।
फिल्ममा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन् ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सहनिर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता छन् । अनिश अधिकारी लाइन निर्माता हुन् ।
दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरे क्रिएटिभ निर्देशक छन् । फिल्ममा प्रशान्त शिवाकोटीको संगीत रहनेछ ।
मंसिर १८ गते प्रदर्शनमा आउने फिल्मलाई नेसनल सिने ग्रुप नेपालले वितरण गर्नेछ । बिग मुभिज थिएटर पार्टनर तथा ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेका छन्।