‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, माघ २८ मा प्रदर्शन

0 Shares

काठमाडौं । हास्यव्यङ्ग्यात्मक नेपाली फिल्म ‘तिरिमिरी झ्याइँ’को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । समीरको निर्देशनमा बनेको फिल्म आगामी माघ २८ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ ।

सामूहिक पात्रहरूको उपस्थिति रहेको पोस्टरमा फिल्मका कलाकारलाई फलामे बारभित्र कैद अवस्थामा देखाइएको छ । पोस्टरमा आभास अधिकारी, सुमन कोइराला, रियर राई, सुरज चौलागाईं र सरोज अर्याल देखिएका छन् । उनीहरूको अनुहारमा फरक–फरक हाउभाउ र भावभङ्गी देख्न सकिन्छ । पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेका हुन् ।

आभास अधिकारीको कथा तथा अवधारणामा तयार भएको फिल्म मनोरञ्जनात्मक तथा सामाजिक कथामा आधारित छ । समकालीन समाजका रमाइला र ठट्यौली पक्षलाई रोचक शैलीमा प्रस्तुत गर्ने फिल्मले दर्शकलाई हँसाउनुका साथै सामाजिक परिवेशसँग पनि जोड्ने निर्माण पक्षको अपेक्षा छ ।

होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मबाट ‘दले दाई’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गरेका छन् । फिल्ममा वरिष्ठ अभिनेता धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारको मुख्य भूमिका रहनेछ ।

फिल्मको छायांकन विशाल कक्षपतिले गरेका छन् भने संगीत अभिषेक कार्कीको छ । गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा फिल्मको पटकथा तथा संवाद तयार पारेका हुन् । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्मको पोस्टर तथा पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको हो ।

प्रद्युम्न बोगटी (प्रविन) निर्माता रहेको फिल्ममा आभास अधिकारी कार्यकारी निर्माता छन् । भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, दिनेश श्रेष्ठ र अनिल शर्मा सहनिर्माता रहेका छन्।

सम्बन्धित समाचार

सबै