एउटै फिल्मबाट बाहिरिनुपरेको पीडा, त्यही फिल्ममा पुनः मुख्य भूमिकामा फर्किने संयोग । सोनम तोप्देनका लागि ‘जलाकी’ एउटा फिल्म मात्र होइन, आफ्नो पहिचान स्थापित गर्ने अवसर पनि हो ।
सन् २०२५ जुन । ढोरपाटनमा फिल्म ‘ऐरी’ को एक्सन दृश्य छायांकन भइरहेका बेला भएको दुर्घटनाले कलाकार सोनम तोप्देनको देब्रे खुट्टा भाँचियो । हेलिकप्टरबाट उद्धार गरेर उनलाई पोखरास्थित चरक मेमोरियल अस्पताल पुर्याइयो । चिकित्सकले कम्तीमा छ महिना पूर्ण आराम गर्नुपर्ने बताए । त्यससँगै उनले एउटा महत्त्वाकांक्षी फिल्म ‘जलाकी’ गुमाउनुपर्यो ।
शारीरिक चोटभन्दा बढी उनलाई आफूले मन पराएको कथाबाट अलग हुनुपर्दाको पीडा थियो । निर्माण टिमले उनको ठाउँमा अभिनेता धीरज मगरलाई अनुबन्ध गरिसकेको थियो । धीरजको आगमनले उनी खुसी पनि थिए, तर आफूले चाहेको भूमिकाबाट टाढिनुपर्दा मन खिन्न थियो ।
महिनौँको फिजियोथेरापीपछि सोनमको स्वास्थ्यमा सुधार हुँदै गयो । यही क्रममा निर्देशक अशोक थापा मगरले उनलाई ‘जलाकी’ मा सहायक भूमिका गर्ने प्रस्ताव राखे । मुख्य भूमिका गुमाए पनि फिल्मसँग जोडिन पाउने कुराले सोनमलाई खुसी बनायो ।
तर, फिल्मको छायांकन निर्धारित समयमा सुरु हुन सकेन । समय लम्बिँदै जाँदा सोनमको खुट्टा पनि निको हुँदै गयो । अन्ततः निर्माण टिम र धीरज मगरबीचको समझदारीपछि सोनम फेरि मुख्य भूमिकामै फर्किए ।
‘फिल्ममा धीरजको आगमनले खुसी त थिएँ तर आफू नभएकोमा स्याड भएर बसिरहेको थिएँ । त्यही बेला अशोक थापा मगरले त्यही फिल्मको सपोर्टिङ रोलमा खेल्ने अफर गर्नुभयो । त्यसले मलाई झन् खुसी दियो । त्यसमाथि फिल्मको सुटिङ सेड्युल पनि तन्किँदै गएको रहेछ । मेरो खुट्टा पनि बिस्तारै निको हुँदै गयो । र साइडबाट फेरि लिड रोलमै म जोडिने मौका पाएँ,’ सोनम आफ्नो अनुभव सुनाउँछन् ।
अब उनी आगामी मंसिर ४ गते ‘जलाकी’ मा मुख्य पात्र ‘लाजिम’ बनेर दर्शकमाझ आउँदैछन् । जुन फिल्मबाट दुर्घटनाका कारण टाढिनुपरेको थियो, त्यही फिल्ममा पुनः मुख्य पात्रका रूपमा फर्किन पाउनुलाई उनी जीवनको महत्त्वपूर्ण संयोग मान्छन् ।
सोनमका अनुसार ‘शाम्बाला’ मा उनको अभिनय मन पराएका निर्देशक अशोक थापा मगरले नै उनलाई ‘जलाकी’ प्रस्ताव गरेका थिए । ‘बीचमा दुर्घटनाले मलाई टाढा पुर्याए पनि सायद यो कथा र पात्र मेरै भाग्यमा लेखिएको रहेछ, म फेरि फर्किएँ,’ उनी भन्छन् ।
सोनमका लागि ‘जलाकी’ को महत्त्व उनको भूमिकामा मात्र सीमित छैन । भारतको मनालीमा जन्मिएका उनले बाल्यकालका नौ वर्ष गुम्बामा बिताए । पारिवारिक जिम्मेवारीका कारण १० वर्षको उमेरमै सांसारिक जीवन रोजेका सोनमको यात्रा पछि संगीततर्फ मोडियो ।
वि.सं. २०७२ सालको भूकम्पपछि ‘स्म्युल’ एपमा हिन्दी गीतका कभर गाएर उनी चर्चामा आए । ‘हवायें’, ‘जीना जीना’, ‘दिल दियाँ गलाँ’, ‘फिर भी तुमको चाहुँगा’ र ‘मिले हो तुम’ जस्ता गीतले उनलाई श्रोतामाझ चिनाए ।
नेपाली गीत ‘तिमी मेरो भविष्य’ देखि तिब्बती र भुटानी गीत ‘ता सेर्पो’, ‘छोए डाङ्पा’, ‘छाम्गोन ताई सितुपा’ र ‘कुत्से तेन’ सम्मको सांगीतिक यात्राले उनको पहिचान फराकिलो बनायो । यही यात्राले उनलाई नेपाली फिल्म ‘सम्हालिन्छ कहिले मन’ सम्म पुर्यायो ।
‘सम्हालिन्छ कहिले मन’ को ‘जरुरी कुरा छ’ गीतमा पूजा शर्मासँगको केमेस्ट्री होस् वा ‘जलाकी’ का ‘चाँदी जलप’, ‘जाले रुमाल मायालाई’, ‘कलेजीको छेउ’ र ‘पहिलो माया’ मा उपासना सिंह ठकुरीसँगको जोडी—सोनमले संगीत र अभिनय दुवैबाट दर्शकको ध्यान खिचेका छन् ।
नेपालमै रहेर नेपाली भाषा, कला र संस्कृतिसँग जोडिँदै आएका उनलाई अझै पनि कतिपयले बाहिरबाट आएको व्यक्तिका रूपमा हेर्ने गरेकोमा भने चित्त दुख्छ । त्यसैले ‘जलाकी’ उनका लागि नेपाली दर्शकमाझ आफ्नो पहिचान स्थापित गर्ने विशेष अवसर बनेको छ ।
मगर समुदायको संस्कृति, परम्परा र परिवेशमा आधारित ‘जलाकी’ लाई उनी अर्गानिक प्रेमकथा भन्छन् । मगर संस्कृतिमा माया र सम्झनाको प्रतीक मानिने ढुंगाको स्तम्भ ‘जलाकी’ जस्तै फिल्मले पनि दर्शकको मनमा गहिरो सम्झना छोड्ने उनको विश्वास छ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित यस फिल्ममा सोनमले अभिनयसँगै पार्श्व गायनमा पनि स्वर दिएका छन् । अशोक थापा मगर निर्देशित फिल्ममा सोनमसँगै उपासना सिंह ठकुरी मुख्य भूमिकामा छिन् ।
चोटले केही समयका लागि उनको बाटो रोके पनि ‘जलाकी’ सम्मको यात्रा रोक्न सकेन । अब सोनम यही फिल्ममार्फत आफ्नो अभिनय र सांगीतिक पहिचानलाई नेपाली दर्शकमाझ अझ फराकिलो बनाउने अपेक्षामा छन् ।