काठमाडौं । अभिनेता कर्मा शाक्य कमै फिल्ममा नकारात्मक भूमिकामा देखिन्छन् । तर, त्यस्ता भूमिकामा उनको प्रस्तुतिलाई दर्शकले रुचाउँदै आएका छन् । आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हिमालयन गोल्ड’मा उनी फेरि खलपात्रका रूपमा देखिँदैछन् । फिल्ममा उनको पात्रको नाम ‘प्रकाश’ हो ।
आफ्नो चरित्रलाई कर्मा पुरानो भाषामा ‘गुण्डा’को संज्ञा दिन्छन् । तर, उनी यसलाई एउटा पात्रको परिस्थितिसँग जोडेर हेर्छन् ।
‘मेरो चरित्र नै नेगेटिभ सेडको छ । पहिलाको चलनचल्तीको भाषामा भन्नुपर्दा गुण्डाको छ । तर, म त्यसलाई त्यसरी लिँदिनँ, किनकि यो एउटा पात्र हो । संयोगवश त्यो पात्रले आफ्नो परिस्थितिअनुसार काम गर्छ,’ उनी भन्छन् ।
फिल्ममा उनको पात्र यार्सागुम्बा लुट्नेदेखि अन्य आपराधिक गतिविधिमा संलग्न हुन्छ । कर्मा यसलाई पात्रको परिस्थितिले निर्धारण गर्ने व्यवहारका रूपमा व्याख्या गर्छन् । यसअघि ‘लुट’मा बैंक लुट्ने पात्र निर्वाह गरेका उनलाई दर्शकले त्यस्ता चरित्र किन जन्मिन्छन् भनेर प्रश्न गर्ने गरेको अनुभव छ ।
निर्देशक धिराज राजवंशीको डेब्यु फिल्म ‘हिमालयन गोल्ड’मा काम गर्दाको अनुभव पनि कर्माका लागि विशेष छ । कथावस्तु, पटकथा र प्रस्तुति सबै पक्ष फरक भएकाले आफूले गर्न चाहेको फिल्ममध्ये यो पनि एक भएको उनी बताउँछन् ।
धिराजका बुवासँग फिल्म ‘शेरबहादुर’मा काम गरिसकेका कर्मालाई त्यसअघिको सम्बन्धले नयाँ निर्देशकसँग सहकार्य गर्न सहज भएको थियो । कथा सुनाउँदा निर्देशकले दृश्य र प्रस्तुतिको अवधारणा पनि स्पष्ट पारेकाले काम गर्न सजिलो भएको उनको अनुभव छ ।
यार्सागुम्बाको कथामा आधारित फिल्म भएकाले मुस्ताङ र डोल्पाको आफ्नो पुरानो अनुभव पनि कर्माका लागि उपयोगी बन्यो । उनी यसअघि ती क्षेत्रमा पुगिसकेका थिए । यार्सागुम्बा संकलन हुने मौसममा डोल्पामा विद्यालय बन्द गरेर बालबालिकासहित ठूलो समूह लेकतर्फ गएको दृश्य आफूले देखेको उनी सुनाउँछन् । साना यार्सागुम्बा चिन्न बालबालिकाको आँखा तेजिलो हुने विश्वासका कारण उनीहरूलाई समेत लैजाने गरिएको उनको भनाइ छ ।
स्थानीयसँगको कुराकानीबाट विगतमा यार्सागुम्बा संकलनका क्रममा लुटपाट र झगडासमेत हुने गरेको जानकारी पाएको कर्मा बताउँछन् । अहिले भने नेपाली सेनाको उपस्थितिसहित संकलन प्रक्रिया केही व्यवस्थित भएको उनको अनुभव छ । बाहिरी जिल्लाबाट आएका संकलकले अनुमति लिएर निश्चित क्षेत्रमा यार्सागुम्बा टिप्ने गरेको र उच्च लेकका कारण कतिपय बिरामीसमेत हुने गरेको उनले बताए ।
यार्सागुम्बासम्बन्धी डकुमेन्ट्री हेरेर पनि यसबारे जानकारी लिएका कर्माका लागि फिल्मको छायांकन आफैँमा चुनौतीपूर्ण रह्यो । विशेषगरी मुस्ताङको उच्च हिमाली क्षेत्रमा रहेको गुफामा एक्सन दृश्य खिच्नु सहज थिएन । अक्सिजनको कमी र धुलो उड्ने समस्याबीच निर्माण टिमले झन्डै पाँच दिन लगाएर त्यहाँ एक्सन दृश्य छायांकन गरेको उनले बताए ।
कर्माका अनुसार परीक्षा लिम्बुको महिला मुख्य पात्र, सुनिल थापाको अभिनय र फिल्मको कथावस्तु यसका आकर्षण हुन् । गीत नै नरहेको यस फिल्मलाई उनी गीतबिनाको कथात्मक फिल्मका रूपमा दर्शकमाझ प्रस्तुत गर्न चाहन्छन् ।
ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा कर्मासँगै परीक्षा लिम्बु, सुनिल थापा, मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्यालको अभिनय छ ।
नेपाली सिनेमाका वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम फिल्मसमेत भएकाले ‘हिमालयन गोल्ड’ निर्माण टिमका लागि भावनात्मक रूपमा विशेष बनेको छ । निर्देशक धिराज राजवंशीले थापाको अन्तिम अभिनयलाई नेपाल र भारतका दर्शकमाझ पुर्याउनु उनको योगदानप्रति श्रद्धाञ्जली हुने बताएका छन् ।
अस्तित्वको संघर्ष, लोभ र विश्वासघातलाई केन्द्रमा राखेको यो सर्भाइभल थ्रिलर फिल्मको कथा निर्देशक राजवंशीकै हो । पटकथा दीपेन्द्र गौचन र धिराज राजवंशीले लेखेका हुन् । मीनबहादुर भाम निर्माता, शैलेन्द्र डी. कार्की लाइन प्रोड्युसर, सुयश ज्ञवाली सहनिर्माता र राजु राजवंशी कार्यकारी निर्माता छन् ।
विशष्ठ प्रधान डीओपी रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन तथा सजल लोप्चन र करुण थापाको भिएफएक्स छ ।
फिल्मलाई भारतमा एए फिल्म्सले वितरण गर्ने भएको छ । ‘बाहुबली’, ‘आरआरआर’ र ‘केजीएफ’जस्ता फिल्म वितरण गरेको कम्पनीले नेपाली फिल्मलाई भारतभर प्रदर्शन गर्नेछ । मध्यपूर्वमा फार्स फिल्म्स मोसन पिक्चर्स, नेपालमा एप्पल इन्टरटेनमेन्ट र जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्टले वितरण गर्नेछन् ।
निर्माण टिमले नेपाली फिल्मले यसरी प्रतिष्ठित भारतीय वितरण कम्पनीमार्फत भारतव्यापी प्रदर्शनको अवसर पाएको यो पहिलो पटक भएको दाबी गरेको छ । एए फिल्म्सका प्रतिनिधि थडानीले फिल्मको कथाले भाषा र भौगोलिक सीमा पार गर्दै दर्शकसँग जोडिने विश्वास व्यक्त गरेका छन् ।