आफूले पर्दामा निर्वाह गर्ने पात्रसँग व्यक्तिगत रूपमा जोडिन पाउनु कलाकारका लागि विशेष अनुभव हुन्छ। अभिनेत्री उपासना सिंह ठकुरीका लागि फिल्म ‘जलाकी’ यस्तै अनुभव बनेको छ। फिल्ममा उनले निर्वाह गरेको ‘लिसारा’को चरित्रसँग आफ्नै जीवनका धेरै पक्ष मिल्ने उनी बताउँछिन्।
मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने अशोक थापा मगर निर्देशित फिल्म ‘जलाकी’को कथावस्तुले नै उपासनालाई सुरुवातदेखि आकर्षित गरेको थियो। स्क्रिप्ट सुन्दा पात्रहरूको पृष्ठभूमि, उनीहरूले लिने निर्णय र त्यसपछाडिका कारणले आफ्नो ध्यान खिचेको उनको भनाइ छ।
उपासनाका लागि ‘जलाकी’ केवल एउटा प्रेमकथा होइन। प्रेमसँगै मानवीय संवेदना, पारिवारिक सम्बन्ध र बाल्यकालका सम्झनालाई जोडेर बुनिएको कथा हो यो। विगतका अनुभवले मानिसको वर्तमान जीवन र निर्णयमा पार्ने प्रभावलाई पनि फिल्मले महत्त्वका साथ प्रस्तुत गरेको उनले बताएकी छन्।
फिल्ममा उपासनाले लिसाराको भूमिका निर्वाह गरेकी छन्। पारिवारिक मूल्यमान्यता, परिवारप्रतिको लगाव र माया व्यक्त गर्ने शैलीमा लिसारा आफ्नै स्वभावसँग मिल्दोजुल्दो रहेको उनको अनुभव छ। त्यसैले पनि यो चरित्र निर्वाह गर्दा आफूले सहज रूपमा भावनात्मक सम्बन्ध स्थापित गर्न सकेको उनी बताउँछिन्।
फिल्मको वर्कशप र छायांकनका क्रममा बिताएका पलले पनि कलाकारलाई पात्रसँग नजिक हुन मद्दत गरे। लोकेसन र वर्कशपको अनुभवले आफूहरूलाई वास्तविक जीवनभन्दा पनि फिल्मकै पात्रको संसारमा पुर्याएको उपासनाको बुझाइ छ। अझ रोमान्टिक दृश्य छायांकन गर्दा बनेको रमाइलो माहोल र बीचबीचमा हाँसो रोक्न नसकिने अवस्थाले कामलाई थप स्मरणीय बनाएको उनी सुनाउँछिन्।
मगर संस्कृतिको सुन्दरता, पारिवारिक सम्बन्ध र मानिसले जीवनमा भोग्ने अनेक उतारचढावलाई ‘जलाकी’ले समेटेको छ। विशेषगरी विगतका अनुभव र भावनात्मक बोझ बोकेर अघि बढ्दा मानिसले सामना गर्नुपर्ने जटिलतालाई फिल्मले प्रेमकथामार्फत प्रस्तुत गरेको उपासनाको भनाइ छ।
अशोक थापा मगर निर्देशित ‘जलाकी’मा उपासनासँगै सोनम तोप्देन, शिल्पा मास्केलगायत कलाकारको अभिनय छ। मगर र गुरुङ समुदायको सांस्कृतिक परिवेश, प्रेम र पारिवारिक सम्बन्धलाई समेटेको फिल्मबाट उपासना आशावादी छन्। अब पर्दामा लिसाराको जीवन र भावनाले दर्शकसँग कस्तो सम्बन्ध स्थापित गर्छ, त्यो भने फिल्म प्रदर्शनपछि थाहा हुनेछ।